राजनीति

नीति तथा योजना आयोगको उपाध्यक्षमा पौडेल

पोखरा- गण्डकी प्रदेश सरकारको नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. गिरीधारी पौडेल नियुक्त भएका छन्। मन्त्रिपरिषद्को गएको आईतबारको बैठकले पौडेललाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषदको चैत २१ गतेको नवौँ बैठकले नै नीति तथा योजना आयोग गठन गर्ने निर्णय गरेतापनि लामो समयपछि सरकारले उपाध्यक्ष नियुक्त गरेको हो।

यसअघि असार २७ गतेको मन्त्रिपरिषद बैठकले उमेरहद कम हुँदा अनुभवी विज्ञहरुलाई आयोगमा ल्याउन नसकिने भन्दै योजना आयोगका पदाधिकारीको उमेरहद बढाउने निर्णय गरेको थियो। उक्त निर्णयानुसार पदाधिकारीको न्यूनतम उमेर ३५ वर्ष यथावतै  राखी अधिकतम उमेल ५५ लाई बढाएर ६५ वर्ष पुर्‍याईएको थियो। उमेरहद बढेको दुई सातामै गण्डकी सरकारले नीति तथा योजना आयोगको उपाध्यक्ष नियुक्त गरेको हो।

५८ वर्षीय पौडेल स्याङजा वाङसिङका हुन् । योजना र विकास क्षेत्रका विज्ञ पौडेल हाल राष्ट्रिय योजना आयोगमा कार्यरत छन्। युएनडिपीमा ५ वर्ष काम गरेपछि पौडेल युएनडिपीकै तर्फबाट राष्ट्रिय योजना आयोगमा खटिएका थिए। उनी राष्ट्रिय योजना अनुगमन तथा मूल्यांकन, क्षमता सुदृढिकरण आयोजनाका राष्ट्रिय प्रबन्धक पनि हुन्।

पौडेलले बैंककबाट एमएस्सी र पिएचडी गरेका छन्। उनले थाईल्याण्डको एसियन ईन्स्टिच्युट अफ टेक्नोलोजीबाट डेभलपमेन्ट प्लानिङ अध्ययन गरेका छन्। उनले सम्भवतः अर्को हप्ता पदभार ग्रहण गर्नेछन्। तर, राष्ट्रिय योजना आयोगको राजीनामा भने स्विकृत भई नसकेको उनले बताए।

चालु आर्थिक वर्षमा सरकारले बजेट ल्याईसकेका कारण त्यसको कार्यान्वयनमा ध्यान दिने उनले जनाए।

सरकारले आयोगका बाँकी सदस्य पनि छिटै थप्ने सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए। आयोगमा अब २ जना सदस्य आवश्यक रहेका छन्। एक महिला सदस्य पनि अनिवार्य गरिएको छ।

प्रकाशित: ११ श्रावण २०७५ १२:३७ शुक्रबार

नीति तथा योजना आयोगको उपाध्यक्षमा पौडेल