राजनीति

सशस्त्रका ५ एआईजीले राजीनामा दिए

काठमाडौं– सशस्त्र प्रहरी बलका फाजिलमा रहेका ५ प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)ले राजीनामा दिएका छन्। 

सरकारले घटुवा गर्ने निर्णय गरेको २४ घण्टा नवित्दै उनीहरुले एआईजीकै हैसियतमा पदबाट राजीनामा दिएका हुन्। प्रहरी महानिरीक्षक शैलैन्द्र खनाललाई उनीहरुले विहीबार राजीनामा पत्र बुझाएका हुन्। खनालले सो राजीनामा गृह मन्त्रालयका निमित्त सचिव एवं प्रवक्ता रामकृष्ण सुवेदीलाई बुझाएका छन्। 

सशस्त्र प्रहरीका एआईजी जानकीराम भट्टराईले आफूले राजीनामा दिएको स्वीकार गरे। ‘मैले राजीनामा दिए, अरुको बारेमा म जान्दिन्’ उनले भने। भट्टराईसहित सुबोध अधिकारी, निराकारविक्रम शाह, खडानन्द चौधरी र राजेश श्रेष्ठले राजीनामा दिएका हुन्। 

सरकारले एआईजी पद कटौती गरेपछि उनीहरु जिम्मेवारीविहिन बनेका थिए। उनीहरुलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न वा डीआईजीमा घटुवाका लागि तयार हुन विकल्प दिइएको थियो। तर, उनीहरुले राजीनामा नदिएपछि बुधबार अबेर रातिसम्म बसेको बैठकले घटुवा गर्ने निर्णय गरेको थियो। घटुवाको निर्णयलगत्तै उनीहरुले एकैदिन राजीनामा दिएका हुन्।

प्रकाशित: २१ असार २०७५ ११:३६ बिहीबार

सशस्त्रका एआईजीले राजीनामा दिए