राजनीति

‘पहुँच र पैसाको भरमा अपराधीले उन्मुक्ति पाउँदैनन्’

सुर्खेत– प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पहुँच र पैसाको भरमा कुनै पनि अपराधीले उन्मुक्ति नपाउने बताएका छन्।  ‘अपराधीहरुलाई समाजमा राख्नु हुँदैन्, उनीहरुलाई निमूल गर्नुपर्छ’, शुक्रबार सुर्खेतको वीरेन्द्रनगरमा महिला तथा बालबालिका सेवा केन्द्रको भवन उद्घाटन गर्दै आइजिपी खनालले भने, ‘यो अभियानमा आम जनताको साथ र सहयोगको खाँचो छ।’ 

प्रहरीले अपराधिक तत्वसँग साँठगाँठ गरेको पाइए जागिरमै नरहने गरेर कारवाही गर्ने चेतावनी दिए। ‘हिजोका दिनमा के भयो म त्यतातिर जान्न’ उनले भने, ‘वर्तमान अवस्थामा प्रहरी देख्ने वित्तिकै अपराधी काँप्नुपर्छ, यसका लागि कुनै पनि प्रहरी परिवारको सदस्यले अपराधीहरुसँग साँठगाँठ गर्नु हुन्न।’ उनले अपराधिक मनोवृत्ति भएका राक्षसहरुको अन्त्य आफ्नो लक्ष्य भएको बताए। 

‘बालिकामाथि हुने बलात्कार, महिलामाथि हुने हिंसाका घटना मैले यहाँबाट सुन्न नपरोस्’ उनले भने, ‘यस्तो कार्यमा संलग्न रावण र राक्षसको अन्त्य गरिनुपर्दछ।’ उनले प्रहरीको अनुसन्धान प्रक्रिया महिला तथा बालबालिका मैत्री हुनुपर्ने बताए। 

आइजिपी खनालले जनताबाट माया पाउनका लागि प्रहरीभित्र ठूलो परिवर्तनको खाँचो रहेको औल्याए। ‘माया पाउनका लागि त्यस्तै खालको सेवा नागरिकहरुलाई दिनुपर्छ’ उनले भने, ‘अहिलेकै परिस्थितिमा जनताले प्रहरी संगठनलाई माया गर्दैनन्, यसका लागि ठूलो परिवर्तनको खाँचो छ।’ उनले पश्चिम नेपालमा बालविवाह, दाइजो, आत्महत्या लगायतका घटनाहरु धेरै रहेको भन्दै यसको न्यूनिकरणका लागि लाग्नुपर्ने बताए। आइजिपी खनालले समाजमा रहेका कुरीतिहरुको अन्त्य गर्दै महिला र बालबालिकाको सुरक्षामा ध्यान दिन आग्रह गरे।

कार्यक्रममा अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी नायव महानिरीक्षक धिरु बस्न्यातले समाजलाई अपराधमुक्त बनाउन नागरिक सहयोग आवश्यक रहेको बताए। उनले नागरिकको सहयोग विना अपराध निर्मूल नहुने भएकाले प्रहरीलाई सहयोग गर्न आग्रह गरे।
एसियाली डेभलपमेन्ट बैंकका शुलोचना श्रेष्ठले पीडितलाई न्याय दिने अभियानलाई निरन्तर रुपमा अघाडि बढाउनुपर्ने बताइन्। उनले सुर्खेत जिल्लामा रहेका सामाजिक विभेदका घटना न्यूनिकरणका लागि जनचेतनामूलक कार्यक्रम आवश्यक रहेको औल्याइन्। वीरेन्द्रनगर नगरपालिकाका उपमेयर मोहनमाया ढकालले बालविवाह न्यूनिकरण गरेमा धेरै हदसम्म महिला हिंसाका घटना अन्त्य हुने बताइन्।

प्रकाशित: १५ असार २०७५ १३:२० शुक्रबार

पहुँच पैसाको भरमा अपराधीले उन्मुक्ति पाउँदैनन्