राजनीति

इदमा परेको परीक्षा सार्न र सार्वजनिक विदा दिन मुस्लिम संघको माग

काठमाडौं– नेपाल मुस्लिम संघले एमडी र एमएसको प्रवेश परीक्षा सार्न माग गरेको छ। साथै इदमा कटौती गरेको सार्वजनिक विदा दिनुपर्ने भनेको छ।

आइतबार संघका अध्यक्ष अब्दुल सत्तारले विज्ञप्ति जारी गर्दै यस बर्षको इद (इदुल फितर) असार २ र ३ गते पर्न गएको र सोही दिन वीपी कोइराला इन्स्टिच्यूट अफ हेल्थ साइन्स धरानले एमडी र एमएसको प्रबेश परीक्षा राखेको भन्दै परीक्षा मिति तत्काल सच्याउन माग गरेका हुन्।

‘मुस्लिम समुदायको प्रमुख पर्व इदकै दिन प्रबेश परीक्षा तय गर्नुले सो इन्स्टिच्यूटले मुस्लिम विद्यार्थीलाई पाखा लगाएर परीक्षा लिन खोजेको हाम्रो ठम्याई छ। तसर्थ, सो दिनका लागि तय गरिएको परीक्षा मिति तत्काल सच्याउन मुस्लिम संघ आग्रह गर्दछ। त्यसैगरी उक्त दिन कुनै परीक्षा नराखिदिन नेपाल मुस्लिम संघ संपूर्ण शैक्षिक संस्था, स्कूल, कलेजलहरुसंग अनुरोध गर्दछ। अन्यथा इन्स्टिच्यूटको सो कदम बिरुद्ध कडा कदम चाल्न संघ बाध्य हुनेछ’, विज्ञप्तिमा भनिएको छ। 

यस्तो संघले इदमा दिँदै आएको सार्वजनिक विदा कटौती गरिएको भन्दै सो निर्णय फिर्ता लिन समेत सरकार माग गरेको छ। ‘देशका सबैजसो जिल्लामा छरिएर रहेका मुस्लिम समुदायको ठूलो पर्ब इद, बकर इद र मोहम्मद जयन्तीमा दिने गरिएको सार्बजनिक बिदा कटौतीको निर्णय तत्काल फिर्ता लिएर मुस्लिम समुदायको धार्मिक पहिचानको सम्मान गर्न संघ आग्रह गर्दछ’, विज्ञप्तिमा उल्लेख छ।

 

प्रकाशित: २७ जेष्ठ २०७५ १४:४६ आइतबार

इदमा परेको परीक्षा सार्न सार्वजनिक विदा मुस्लिम संघको माग