राजनीति

नेताका अंगरक्षक प्राथमिकतामा

काठमाडाैं – नेपाल प्रहरीमा केही दिनअघि भएको बढुवा सिफारिसमा प्रधानमन्त्रीदेखि दलका नेताहरुको सुरक्षामा खटिने प्रहरी अधिकृतहरु प्राथमिकतामा परेका छन्। प्रहरी उपरीक्षक (एसपी) र प्रहरी नायब उपरीक्षक (डिएसपी) को बढुवा समितिले कार्य क्षेत्रमा खटिएका अधिकृतहरुलाई भन्दा अंगरक्षकलाई प्राथमिकता दिएर सिफारिस गरेको हो।

तीन वर्षको कार्यसम्पादन मूल्यांकनमा पनि अंगरक्षकहरुको अंक बढी देखिएपछि बढृुवा त्यहीअनुसार भएको नेपाल प्रहरीको उच्च स्रोतले बतायो। बढुवामा अंगरक्षकलाई प्राथमिकता दिँदा कार्यक्षेत्रमा खटिएका अधिकृतहरु मर्कामा परेका छन्। प्रहरी प्रधान कार्यालयले २८ जना डिएसपीलाई एसपी र ५५ जना इन्सपेक्टरलाई डिएसपीमा बढुवा सिफारिस गरेको थियो।

एसपीको बढुवा सूचीमा रहेका गंगा पन्त, बसन्त रजौरे, सोमेन्द्रसिंह राठौर, प्रवीण पोखरेल, भूपेन्द्रबहादुर खत्री, आभूषण तिमिल्सेना, तारादेवी थापा, दीपशमशेर राणा, प्रज्वल महर्जन वरीयताक्रममा पछि परेका छन्। यस्तै रमेश बस्नेत र भीम दाहाल बढुवामा छुटेका छन्। लामो समयदेखि कर्मचारी प्रशासनमा रहेका अच्युतमप्रसाद पुडासैनी पहिलो नम्बरमा र प्रताप गुरुङ दोस्रो नम्बरमा बढुवा भएका छन्। उनीहरु दुवै आगामी कात्तिकमा ३० वर्षे अवधिका कारण सेवामुक्त हुँदैछन्। एउटै ब्याचमा रहेका विश्व अधिकारी तेस्रो नम्बरमा बढुवा भएका छन्। उनले सिन्धुपाल्चोकमा एकपटक मात्रै कमान्ड सम्हालेका थिए। बाँकी समय उनी प्रहरी प्रशिक्षण प्रतिष्ठानमा बसेका थिए।

प्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षा गार्डमा खटिएका डिएसपी सानुराम भट्टराई चौथो नम्बरमा बढुवा भएका छन्। भट्टराई माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा उनका पनि सुरक्षा गार्ड थिए। नेपाल प्रधानमन्त्री हुँदा सुरक्षा गार्ड प्रमुख रहेका अभिनारायण काफ्ले बढुवाको आठौं नम्बरमा सिफारिस भएका छन्। डिएसपी बढुवामा एक नम्बरमा रहेका गंगा पन्त १५ नम्बरमा पुगेकी छन्। सोही ब्याचका रमेश बस्नेत, भीम दाहाललगायतका अधिकृत बढुवामा छुटेका छन्। दाहाल रानीबारी हत्याकाण्डका अनुसन्धान अधिकृत हुन्। उनलाई गृह मन्त्रालयले पुरस्कारसमेत दिएको थियो।

इन्सपेक्टरबाट डिएसपी बढुवा पनि उस्तै देखिएको छ। पूर्वउपप्रधानमन्त्री तथा पूर्वगृहमन्त्री वामदेव गौतमको पिएसओ बसेका मिमबहादुर लामा पहिलो नम्बरमा बढुवा भएका छन्। रेवतीरमण पोखरेल ३५ औं, दीप्ति कार्की आठौं, रोशन खड्का ५० औं, कौशल बुढाथोकी २३ औं र भीष्म हुमागार्इं १४ आैं नम्बरमा बढुवा भएका छन्। हुमागार्इं ३३ किलो सुन तस्करी र सनम हत्याकाण्डको उच्चस्तरीय छानबिन समितिमा छन्।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार तीन वर्षको कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा गर्दा कोही अघि कोही पछि परेका हुन्। ‘प्रहरी नियमावली २०७१ ले कार्यसम्पादन मूल्यांकनलाई बढुवाको आधार बनाएको छ। त्यही नियमावलीअनुसार बढुवा सिफारिस भएका हुन्’, प्रधान कार्यालय स्रोतले भन्यो। सो नियमावलीअनुसार एक सय नम्बरमध्ये ४० नम्बर कार्यसम्पादन मूल्यांकनबापत, २० नम्बर ज्येष्ठताबापत, ८ नम्बर भौगोलिक क्षेत्रमा काम गरेबापत, १० नम्बर शैक्षिक योग्यताबापत, साढे सात नम्बर शैक्षिक योग्यताबापत तथा २ नम्बर विभूषण प्राप्त गरेबापत दिइन्छ।

बाँकी साढे १२ नम्बरमध्ये ७.५ नम्बर दिने अधिकार बढुवा सिफारिस समितिलाई हुन्छ। ५ नम्बर चुनौतीपूर्ण काम गरेबापत भनेर प्रहरी महानिरीक्षक आफैंले दिन्छन्। यही १२.५ नम्बरमा बढुवाका प्रतिपर्धीहरुले चलखेल गर्दै आएका छन्। ‘प्रहरी महानिरीक्षकलाई पनि सबैको कार्यक्षमताबारे जानकारी हुँदैन तर उनले दिने नम्बरमै कोही कसैले चलखेल गरिदिन सक्छन्। त्यसकारण राम्रा मानिएका अफिसरहरु बढुवामा पछि परेका छन्’, प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो।

प्रकाशित: २२ जेष्ठ २०७५ ०२:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App