राजनीति

सयदिने उपलब्धि : मितव्ययी नीति

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक क्षेत्रमा हुने अनावश्यक खर्च कटौती र मितव्ययी नीतिका कारण मुलुकमा बर्सेनि १५ अर्ब रुपैयाँ बचत हुने बताएका छन्। उनले अनावश्यक विदेश भ्रमणमा रोक, सार्वजनिक क्षेत्रमा हुने खर्च कटौती र मितव्ययी नीति लागू गरिँदा यति रकम बचत हुने उनले बताएका हुन्। सोमबार सरकारको सय दिनका उपलब्धि सार्वजनिक गर्दै प्रधानमन्त्रीले विदेश भ्रमण उपयोगी, पारदर्शी र व्यवस्थित गर्दा राज्यको करोडौं रुपैयाँ जोगिएको प्रस्ट पारे। उनले भने, ‘सार्वजनिक क्षेत्रमा मितव्ययीता र प्रभावकारिता कायम गर्ने नीतिका कारण एक वर्षमा १५ अर्ब रुपैयाँ बचत हुने घोषणा गर्न पाउँदा गर्व गर्छु।’

मुलुकको आर्थिक क्षेत्र जर्जर अवस्थामा पुगिसक्दा पनि विदेश सयर गरी राज्यलाई भार बोकाउने प्रवृत्ति अन्त्य गर्न र सार्वजनिक तथा प्रशासनिक क्षेत्र सुधार गर्ने दुइटा नीति लागू गरिएको ओलीले बताए। उनले सीमित लोकप्रियताका लागि मात्रै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को अभियानमा नजुटेको प्रस्ट्याए। उनले भने, ‘सरकारले लोकप्रियताका लागि काम गर्दैन तर काम गरेर लोकप्रिय हुन्छ, उनले भने।

प्रधानमन्त्री ओलीले सार्वजनिक यातायातमा सिन्डिकेट हटाउनेदेखि खर्च मितव्ययी बनाउने कामलाई उपलब्धिको सूचीमा समेटेका छन्। ‘सार्वजनिक यातायातको क्षेत्रमा डरलाग्दो सिन्डिकेट थियो, त्यसलाई हामीले तोडिदियौं, त्यो फेरि कहिल्यै जोडिन नसक्ने गरी तोडिदियौं,’ उनले भने। सुन तस्कर पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाइएको विषयलाई पनि उपलब्धिको सूचीमा सरकारले राखेको छ।

‘यो कारबाही सुन तस्करमाथिको मात्रै होइन, यो तस्करमाथिको कारबाही हो, यो प्रारम्भ हो,’ प्रधानमन्त्रीले भने, ‘काम नगर्ने तर ठूलो परियोजना ओगटेर बस्ने ठेकेदारमाथि कारबाही सुरु गरेका छौं, अब यो तरिका चल्दैन।’ जिम्मा लिएपछि समयसीमामा काम सक्नै पर्ने प्रधानमन्त्रीको निर्देशन छ।

वैदेशिक रोजगारीमा जानेसँग ठगी गर्नेलाई पनि कारबाही गरेको विषय उपलब्धिका रूपमा हेर्नुपर्ने प्रधानमन्त्रीको भनाइ छ। ठगी, तस्करी र कालोबजारीमाथि सरकारले लिएको ‘एक्सन’ माथि पाएको जनसमर्थनले पुलकित बनाएको उनले बताए। ओलीले भने, ‘मैले अनुभव गरेको कुरा के हो भने नेतृत्वले निष्ठापूर्वक देखेको सपना राष्ट्रिय सपना बन्दो रहेछ।’

दक्षिणी छिमेकी मुलुक भारत र उत्तरी छिमेकी मुलुक चीन दुवैको सीमासम्म रेल चलाउने प्रतिबद्धता पनि उनले जनाए। ‘आउँदो भदौसम्ममा पूरा गर्ने गरी केरुङ काठमाडौं, पोखरा–लुम्बिनी रेलमार्गको प्रारम्भिमक सम्भाव्यता अध्यययन सुरु गर्न चिनियाँ पक्ष सहमत भएको छ,’ ओलीले भने, ‘एक वर्षमा सम्पूर्ण सर्वेक्षण सक्नेगरी काठमाडौं–वीरगन्ज रेलमार्ग निर्माणका लागि भारत सहमत भएको छ।’ रेल जनताको सपना भएको बताउँदै प्रधानमन्त्रीले पाँच वर्षे कार्यकालभित्र सो सपना पूरा हुने दाबी गरे।

राष्ट्र, राष्ट्रिय एकता र अखण्डताका लागि सरकार सदैव सचेत रहेको ओलीले दाबी गरे। ‘सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने मेरो अठोटबाट तपार्ईहरू परिचित हुनुहुन्छ, राष्ट्रिय र राष्ट्रियताको सवालमा मप्रति तपाईंको अगाध विश्वास छ भन्ने म ठान्दछु,’ ओलीले भने। नेपाल र भारत दुवै देशका प्रधानमन्त्रीको अन्तरदेशीय भ्रमणबाट सम्बन्ध सुधार गरिएको उनले बताए। ‘अहिले नेपाल–भारत सम्बन्ध सुमधुर भएको छ, बल्ल हामी छिमेकीजस्ता भएका छौं।’ भारतसँगको भएको सम्झौता कार्यान्वयन गर्दै जाने जनाउँदै ओलीले त्यसका लागि जनताले महसुस हुनेगरी काम सम्पन्न गर्न टाइमलाइन तोक्ने कार्य गरिएको उल्लेख गरे।

भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणक्रममा ९ सय मेगावाट अरुण तेस्रो जलविद्युत् परियोजना शिलान्यास भएको र वीरगन्जस्थित एकीकृत चौकी सञ्चालनमा आएको विषयलाई प्रधानमन्त्रीले गौरवपूर्ण भएको बताए। ओलीले एक दशकदेखि विराटनगरमा रहेको भारतीय अस्थायी क्याम्प हटाउने निर्णय उपलब्धिमूलक भएको पनि प्रस्ट पारे। मुलुकको जर्जर आर्थिक अवस्था सुधारका लागि कडा कदम चालिएको प्रधानमन्त्रीको भनाइ छ। अर्थमन्त्रीले सार्वजनिक गरेको श्वेतपत्रसमेतको चर्चा गर्दै उनले आर्थिक मितव्ययीताका लागि सकारात्मक कदम चालिएको बताए। नेपालमा अब भ्रष्टचारीका दिन गएको थप्दै उनले भने ‘मैले सबैले सुन्ने र बुभ्mने गरी भन्दै आएको छु, म भ्रष्टाचार गर्दिनँ, अरूलाई पनि गर्न दिन्नँ।’

सार्वजनिक बिदा कटौती गरेर देशका लागि काम गर्ने वातावरण बनाएको उनले दाबी गरेका छन्। ‘२५० घण्टा थप गरेका छौं, २५० घण्टा थप्नु भनेको झन्डै १ वर्षमा थप १ महिना बढी काम गर्नु हो, ८० हजार कर्मचारीले मात्रै काम गर्ने हेर्ने हो भने १ करोड ९२ लाख कार्यदिवस नाफा हुनु हो,’ ओलीले भने । अब लोडसेडिङ नेपालमा इतिहासको विषय बन्दै गरेको जनाउँदै उनले सय दिनमा नै लोडसेडिङ अन्त्य भएको घोषण गर्नुलाई ऐतिहासिक उपलब्धिका रूपमा व्याख्या गरे । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा सञ्चालनमा आउनु र विगतमा बन्द भएका विमानस्थल धमाधम खुल्न लागेको प्रधानमन्त्रीको भनाइ छ।

‘७५३ वटा स्थानमा मान्यताप्राप्त प्राविधिक शिक्षालय स्थापना गर्ने, सबै स्थानीय तहमा न्यूनतम १ उद्योगग्राम स्थापना गर्ने र प्रत्येक सदरमुकाम रंगशाला निर्माण गर्ने लक्ष्यसहित देश अघि बढेको छ,’ ओलीले भने। जेठ ७ गते नीति तथा कार्यक्रम सार्वजनिक गरेपछि विपक्षीले पनि समर्थन जनाएकोमा सरकारले गौरवबोध गरेको उनले बताए। एकाधजनाबाहेक सो कार्यक्रममा खोट लगाउन नसक्नु र सर्वसम्मत रूपमा पारित हुनुलाई उपलब्धिका रूपमा प्रधानमन्त्रीले व्याख्या गरे। ‘आगामी ५ वर्षभित्र प्रतिव्यक्ति आम्दानी दोब्बर बनाइनेछ,’ ओलीले भने।

प्रकाशित: १५ जेष्ठ २०७५ ०५:२० मंगलबार

सयदिने उपलब्धि मितव्ययी नीति