राजनीति

गृहमन्त्री थापाले भने– विप्लव र राउत सुरक्षामा प्रमुख चुनौती

सुर्खेत– गृहमन्त्री रामबहादुर थापाले विप्लव नेतृत्वको नेकपा माओवादी र देश विखण्डनमा लागेको सीके राउत समूह अहिलेका लागि प्रमुख सुरक्षा चुनौती रहेको बताएका छन्। जातीय तथा धार्मिक आवरणमा आन्दोलन गरिरहेका समूहबाट पनि सुरक्षा चुनौती रहेको उनको भनाई छ।

‘राजनीतिक, धार्मिक र जातीय आवरणमा राज्य व्यवस्थालाई स्वीकार नगर्ने अतिवादी समूहको नियन्त्रण हाम्रा लागि सबैभन्दा ठूलो चुनौती हो’ कर्णाली प्रदेशको प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन सुर्खेत आएका गृहमन्त्री थापाले भने, ‘यसका साथै केही बाह्य चुनौतिहरु पनि हाम्रासामु छन्।’

गृहमन्त्री थापाले विकास र समृद्धिका लागि सुशासन, स्थायित्व र शान्ति अपरिहार्य रहेको बताउँदै यसका लागि सबै प्रदेशमा सुरक्षा रणनीति बनाइने बताए। ‘गृह मन्त्रालयले सुरु गरेको सिण्डिकेट अन्त्यको अभियान प्रभावकारी बनेको छ, अब विकास र समृद्धिका लागि सुशासन, स्थायित्व र शान्ति आवश्यक छ’, उनले भने, ‘भ्रष्टाचार, सिण्डिकेट र अपराध नियन्त्रण गर्न सबै प्रदेशमा सुरक्षा रणनीति बनाएर अगाडि बढ्छौं।’

उनले यातायातको सिण्डिकेटको अन्त्य भएको बताउँदै अब विकासमा हुने सिण्डिकेट र भ्रष्टाचार अन्त्यका लागि गृह मन्त्रालय लाग्ने बताए। ‘कर्णाली प्रदेशको सुरक्षा गोष्ठीमा पनि विकासमा भइरहेको अनियमितता र भ्रष्ट्राचारका बारेमा कुरा उठेको छ’, उनले भने, ‘सरोकारवाला मन्त्रालयसँग समन्वय गरेर विकासमा भइराखेको भ्रष्ट्राचार र सिण्डिकेटको अन्त्य गछौं।’ उनले बर्खा सुरु हुने समयमा बाटो खन्ने काम हुने गरेको भन्दै यसलाई रोक्नेतर्फ गृह मन्त्रालय लाग्ने बताए।

लागूऔषध, दुर्ब्यशन, घरेलु हिंसा, महिलामाथि हुने हिंसा अन्त्यका लागि सबै जिल्लामा विशेष अभियानको सुरुवात गर्न लागिएको उनले जानकारी गराए।

प्रकाशित: ८ जेष्ठ २०७५ ११:४६ मंगलबार

गृहमन्त्री थापाले भने– विप्लव राउत सुरक्षामा प्रमुख चुनौती