राजनीति

नेपालको उर्जा, कृषि, सडक र रेल्वे क्षेत्रमा लगानी गर्न चाहन्छौं : चीन

काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुनसँग चीन सिचुवान प्रान्तका उपगभर्नर पेङ युसिङले शिष्टाचार भेट गरेका छन्।

बुधबार उपराष्ट्रपतिको कार्यालय बहादुर भवनमा भएको भेटमा उपराष्ट्रपतिले सिचुवान प्रान्तका उपगभर्नर नेतृत्वको प्रतिनिधि मण्डलसँग नेपाल राजनीतिक स्थायित्व, विकास र समृद्धिको मार्गमा अगाडि बढिरहेको बताए। उनले नेपालको समृद्धिमा चीनको सहयोगको खाँचो औंल्याउँदै एक पेटी एक मार्ग (ओविओआर)बाट नेपालले अधिकतम लाभ लिने कोशिस गरिरहेको बताए।

उनले नेपाल लगानीका लागि भर्जिनल्याण्ड भएको उल्लेख गर्दै उर्जा, कृषि, पर्यटन, रेलमार्ग, भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा लगानी गर्न आग्रह गरे। उपराष्ट्रपतिले चीनसँगको व्यापार बढ्दो भए पनि नेपालले व्यापार घाटा भोगिरहेको अवगत गराउँदै व्यापार सन्तुलनका लागि दुवै देशले सोच्नुपर्ने सुझाव दिए।

चिनियाँ प्रतिनिधि मण्डलसँगको भेटमा नेपाल चीनको एक चीन नीतिप्रति दृढ रहेको उल्लेख गर्दै चीन विरुद्ध नेपाली भूमि प्रयोग गर्न कसैलाई पनि नदिने प्रतिबद्धता जनाए।

भेटमा सिचुवान प्रान्तका उप उगभर्नरले नेपाल चीन सम्बन्ध अत्यन्त प्रगाढ रहेको बताए। उनले नेपालको विकासमा सधै चीनको साथ रहने उल्लेख गर्दै चीन र सिचुवान प्रान्तले नेपालको उर्जा, कृषि तथा खाद्य प्रविधि, सडक सञ्जाल, रेल्वेको क्षेत्रमा लगानी गर्न चाहेको उल्लेख गरे। उनले आफू नेतृत्वको प्रतिनिधि मण्डल लगानीको सम्भाव्यता अध्ययन गर्न आएको समेत जानकारी गराए।

नर्वेका राजदूतले पनि भेटे
बुधबारै उपराष्ट्रपतिसँग नेपालका लागि नर्वेका राजदूत लास्से जोर्न योहानेशनले शिष्टाचार भेट गरेका छन्। नर्वेजियन राजदूतसँगको भेटमा उपराष्ट्रपतिले नेपालको शान्ति प्रक्रिया र विकासका लागि नर्वेले गरेको सहयोगका लागि धन्यवाद दिए।

प्रकाशित: २ जेष्ठ २०७५ १०:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App