राजनीति

सबै स्थानीय तहमा खानेपानीका सम्भावना खोज्छौं : मन्त्री मगर

ललितपुर– खानेपानी मन्त्री बिना मगरले सबै स्थानीय तहमा खानेपानीका सम्भावना खोज्ने गरी कार्ययोजना बनिरहेको बताएकी छिन्।

ललितपुरको महालक्ष्मी नगरपालिका–८ लुभुमा आयोजित लुभु खानेपानी तथा सरसफाई उपभोक्ता संस्था अन्तर्गत तल्लो दोभान खानेपानी आयोजनाको दोस्रो वार्षिक साधारणसभालाई शनिबार सम्बोधन गर्दै मन्त्री मगरले स्वच्छ खानेपानीमा नागरिकको पहुँच सहज बनाउन देशैभरि सम्भावना खोजिने बताइन। खानेपानीका थुप्रै सम्भावना भएपनि सरकार अहिलेसम्म सम्भावना पहिचानमा चुकेको उनले बताइन।

‘गृहिणी दिदीबहिनीले खानेपानी जुटाउन धेरै दुःख गर्नुपरेको छ,’ उनले भनिन, ‘मन्त्रालयले खानेपानीमा सहज पहुँचका लागि योजना बनाइरहेको छ।’ खानेपानीमा सहज पहुँचका साथै नेपाली हिमालको पानी अन्तर्रा्ष्ट्रिय बजारमा पुर्याउने र पानी उद्योगमा युवालाई संलग्न गराउने योजना समेत बनिरहेको मन्त्री मगरले जानाकारी गराइन। ‘हिमालबाट बगेर उत्पादन भएको पानीको माग अन्तर्राष्ट्रिय बजारमा धेरै छ,’ उनले भने, ‘पानी उद्योगबाट रोजगारी सिर्जना गरेर आयआर्जन गर्न सकिन्छ।’

खानेपानी वितरणका लागि उपभोक्ता संस्थाले गरिरहेको प्रयासको प्रशंसा गर्दै मन्त्री मगरले संस्थाको योजना पूरा गर्न मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धता जनाइन्।

प्रकाशित: २९ वैशाख २०७५ ११:०३ शनिबार

सबै स्थानीय तहमा खानेपानीका सम्भावना खोज्छौं मन्त्री मगर