नागरिक उन्मुक्ति र जनमत पाटीको पहिलो कार्यदलको बैठक पटक पटक निष्कर्षविहीन बन्दै गएको छ । गुलरियास्थित नागरिक उन्मुक्तिका संरक्षक रेशमलाल चौधरीको बन्द रहेको फूलबारी एफएमको कार्यालयमा चार घन्टा लामो बैठक एकीकृत पार्टीको अध्यक्षमा को बस्ने भन्ने विषयमा सहमती हुन नसकेपछि निष्कर्षविहीन बन्न पुगेको हो ।
सिके राउत र रेशम चौधरीबीच गुलरियाको छलफलमा सहमती नभएपछि आइतबार नै पुनः मधुवन अमरपुरमा बैठक डाकिएको थियो । अमरपुरमा कार्यदलका दुई पाटीका तीन–तीन जना नेता सहभागी थिए । बर्दियाको अमरपुरमा बसेको बैठक फेरि निष्कर्षविहीन बनेको छ ।
कार्यदलको बैठकमा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ भने सहभागी भइनन् । कार्यदलको पहिलो एजेन्डामा नयाँ बन्ने पार्टीमा अध्यक्षमा राउत, सह-अध्यक्ष रन्जिता श्रेष्ठ, पाटीको संरक्षक चौधरीको नै रहने प्रस्तावमा कार्यदल बैठकमा छलफल भइरहँदा सहमती हुन नसकेको कुरा बाहिर आएको हो ।
बाँकेको गाभर होमस्टे हुँदै बर्दियाको गुलरियामा बसिरहेको बैठकबाट दस्ताबेजको अन्तिम तयारी भइरहेको नेताहरुको दाबी छ । यद्यपि सहमतिका लागि भन्दै बैठकस्थल भने बारम्बार परिवर्तन भइरहनुले हैरान बनेको नेताहरु स्वयं बताउँछन् । पार्टी अध्यक्ष लगायतको पदाधिकारी बारेमा एकमत हुन नसक्दा दिनदिनै वार्तास्थल भने एक ठाउँबाट अर्को ठाउँमा सार्नु परेको पार्टी स्रोतको दाबी छ ।
‘बैठक निष्कर्षविहीन हुनुको मुख्य कुरा भनेको अध्यक्ष पदका लागि हारालुछ हो,’ पाटी स्रोतले भन्यो,‘ अरु कुरा त मिले जस्तो छ, अध्यक्षमा दुबै पार्टीको दाबी छ ।’ दुबै पक्षका नेताले कार्यदल बैठकले निष्कर्ष निकालेको दाबी गरिरहेका छन् ।
जनमतका अध्यक्ष सिके राउतले कार्यदल बैठकको निष्कर्ष निस्किसकेको बताएका छन् भने नागरिक उन्मुक्तिका संरक्षक रेशमलालले कार्यदल बैठकको विषयमा जानकारी लिन खोज्दा आलटाल कुरा गरिरहेका छन् ।
बैशाख १५ सम्म पार्टी एकीकरण घोषणा तयारी गरिरहे पनि बैठकले अन्तिम टुगों लगाउन सकिरहेको छैन । केन्द्रीय समितिले अनुमोदन गरेपछि कार्यदलको बैठकले निकालेको एकीकरण दस्तावेज प्रमाणीकरण गर्नेछ ।
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष श्रेष्ठ र रेशमलाल बीचको सम्बन्ध चिसो भएको कारण अन्ततः यो एकीकरणको प्रयास तुहिने होकि भन्ने आशंका पनि कार्यकर्तामा उत्तिकै छ ।
प्रकाशित: २४ चैत्र २०८१ १७:२६ आइतबार