विराटनगरस्थित डिग्री कलेज र महेन्द्र मोरङ क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिसहित १२ जना विद्यार्थीलाई मोरङ प्रहरीले शुक्रबार पक्राउ गरेको छ। मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीका अनुसार, महेन्द्र मोरङ क्याम्पसका स्ववियु सभापति जसवन्त पौडेलसहित ६ जना र डिग्री कलेजका ६ जना पक्राउ परेका हुन्।
महेन्द्र मोरङ क्याम्पसबाट पक्राउ पर्नेमा विराटनगर–१० का २८ वर्षीय सभापति जसवन्त पौडेल, विराटनगर–३ का २७ वर्षीय सचिव सनिम ठकुरी, विराटनगर–१२ का २७ वर्षीय सदस्य रोशनकुमार पासवान, सोही ठाउँका २८ वर्षीय प्रज्वल अधिकारी, विराटनगर–७ का २० वर्षीय नवीन तिवारी र विराटनगर–१ का १९ वर्षीय तिलक खड्का छन्। उनीहरूले शुक्रबार दिउँसो बन्द स्ववियु निर्वाचन कार्यालयमा कुर्सी र सूचना पाटी तोडफोड गरी ताला फुटाएर भित्र पस्न खोज्दा पक्राउ परेका हुन्।
महेन्द्र मोरङ क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) भित्र आधिकारिकताको विवाद छ। संस्थापन पक्षले आधिकारिकता पाएपछि इतर समूहले निर्वाचन कार्यालयमा ताला लगाएको थियो। यसअघि पौडेल समूह र इतर समूहबीच क्याम्पसभित्र झडप हुँदा इतर पक्षका एक जना घाइते भएका थिए।
यसैबीच, विराटनगर–१४ को डिग्री कलेजमा पनि ताला फुटाएर तोडफोड गरेको आरोपमा ६ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा विराटनगर–२ का १९ वर्षीय दाजुभाइ तिलक पोख्रेल र राज पोख्रेल, सोही ठाउँका २० वर्षीय किसन रजक, विराटनगर–४ का २२ वर्षीय सुज्ञान पराजुली, विराटनगर–५ का २७ वर्षीय अन्जनी चौधरी र विराटनगर–१२ का २६ वर्षीय अवधेश मण्डल छन्।
उनीहरूले नेविसंघका कार्यकर्ता भएको र ताला तोड्न आएको बताएका छन्। प्रहरीका अनुसार, उनीहरूले मुख्य गेट नभई गलत बाटोबाट प्रवेश गरी फलामको रड प्रयोग गरेर ताला फुटाउन खोज्दा रडसहित पक्राउ परे। महेन्द्र मोरङबाट पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालय र डिग्री कलेजबाट पक्राउ परेकालाई इलाका प्रहरी कार्यालयमा राखेर अनुसन्धान भइरहेको छ। डिएसपी जोशीले दुवै घटना एकै प्रकृतिका र नेविसंघसँग सम्बन्धित भएको बताए। पक्राउ परेकामाथि कारबाहीबारे शनिबार कलेज प्रशासन र स्ववियु निर्वाचन अधिकृतसँग छलफल गरी टुंगो लगाइने उनले जानकारी दिए।
प्रकाशित: १ चैत्र २०८१ २०:४४ शुक्रबार