राजनीति

पाथीभरा केबलकार विवाद : तीन मन्त्रालयको प्रतिनिधिसहित वार्ता समिति बनाइने, अधिकांश सांसद निर्माण हुनुपर्ने पक्षमा

'संवादमार्फत समस्याको समाधान गर्नुपर्छ'

गृहमन्त्री रमेश लेखकले वार्तामार्फत पाथीभरा केबलकारको समस्या समाधान गर्ने बताएका छन्। मङ्गलबार (आज) साँझ ताप्लेजुङ, सङ्खुवासभा, इलाम, धनकुटा र पाँचथरका सांसदहरूसँग छलफल गरेका लेखकले यस्तो बताएका हुन्।

छलफलमा सहभागी ताप्लेजुङकी सांसद उर्मिला थेबेले गृहमन्त्री लेखकलाई उद्धृत गर्दै भनिन्, 'वार्ता समिति बनाउनुपर्छ र संवादकै माध्यमबाट समस्या समाधान गर्नुपर्छ।'

सांसद थेबेका अनुसार चाँडै वार्ता समिति बनाउने सहमति भएको छ। समितिमा गृह, पर्यटन र भौतिक पूर्वाधार मन्त्रालयका प्रतिनिधिसमेत समाहित गरिने उनले बताइन्।

सांसद थेबेले सबै सांसदहरू केबलकार बनाउनैपर्नेमा देखिएको दाबीसमेत गरिन्। 'योगेश, सुहाङलगायत सबै सबै माननीयहरूले केबलकार बनाउनैपर्ने बताउनुभयो, गृहमन्त्रीले संवाद गर्नुपर्छ भनेर भन्नुभयो,' उनले भनिन्।

अगाडि उनले भनिन्, 'त्यो ठूलो समस्या होइन, संवादमार्फत समस्या समाधान गर्न सकिन्छ। १० वर्षे जनयुद्ध त संवादबाट सफल भयो। यो समस्या पनि समाधान गर्नुपर्छ र केबलकार बनाउनैपर्छ।'

यो पनि पढ्नुहोस्

पाथीभरा केबलकार विवाद : गृहमन्त्रीले गरे पाँच जिल्लाका सांसदसँग छलफल

प्रकाशित: १५ माघ २०८१ २०:४८ मंगलबार

#pathivarakebalkar