डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतिको कार्यभार सम्हालेलगत्तै गैरअमेरिकी मातापिताबाट देशमा जन्मिएका बालबालिकाले स्वतः पाउने अमेरिकी नागरिकताको प्रवधान खारेज गरेका थिए।
तर, ट्रम्पको यो कार्यकारी आदेशलाई अदालतले रोक लगाइदिएको छ। यसपछि उनलाई झट्का लागेको छ।
अमेरिकाको सियाटलस्थित संघीय अदालतका न्यायाधीशले उक्त आदेशमा यो रोक अस्थायी रूपमा लगाएको बीबीसीले जनाएको छ।
अदालतमा अमेरिकाका चार राज्य वासिङ्टन, एरिजोना, इलिनोइस र ओरेगनले जन्मेकै आधारमा अमेरिकी नागरिकता दिने प्रावधान खारेज गर्ने ट्रम्पको कार्यकारी आदेशमा रोक लगाउन माग गरेका थिए। त्यसैको सुनुवाइ गर्दै अदालतले उक्त आदेश दिएको हो।
अमेरिकाको कानुन विभागका वकिलले ट्रम्पको आदेशको बचाउ गरेका थिए। बीबीसीका अनुसार त्यसक्रममा न्यायाधीशले ती वकिललाई प्रश्न गरेका थिए- के यो संवैधानिक छ?
ट्रम्पले जारी गरेको आदेशमा कुन परिस्थितिमा जन्मनासाथ अमेरिकी नागरिकता पाइँदैन भन्ने उल्लेख छ। जसमा शिशुकी आमा अवैध रूपमा अमेरिकामा बसेको भए त्यस्तो अवस्थामा नागरिकता नपाउने उल्लेख थियो। त्यस्तै शिशु जन्मिएको समयमा पिता अमेरिकाको नागरिक नभए या वैध स्थायी निवासी नभए त्यस्तो बच्चाले पनि नागरिकता नपाउने उल्लेख थियो।
त्यस्तै शिशु जन्मिएको समयमा आमा अमेरिकामा वैध बस्दै आए पनि उनी अस्थायी निवासी भए तथा पिता शिशुको जन्मको समयमा अमेरिकी नागरिक या वैध स्थायी निवासी नभएको अवस्थामा नागरिकता नपाउने उल्लेख थियो।
प्रकाशित: ११ माघ २०८१ ०९:१० शुक्रबार