राजनीति

राजनीतिकाे किनारामा पुग्दा बालेनको सम्झना !

नेकपा एमालेबाट निष्कासित पूर्व उपाध्यक्ष भीम रावलले शुक्रवार धनगढी पुगेर आफू काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँग सहकार्य गर्न खुला रहेको घोषणा गरे। भविष्यमा राजनीतिक दल नै बनाउने गरी मातृभूमि जागरण अभियान, नेपाल नामक अभियान चलाइरहेका रावलले दिएको यो अभिव्यक्तिमा बालेनलाई समेट्ने उनको चाहना झल्किन्छ । 

‘यो देशको हित चाहने, अहिलेको अवस्थामा देश भएन । अहिले ठुला राजनीतिक दलहरू भागबन्डामा केन्द्रित भएका छन्,’ पत्रकारसँग कुरा गर्दै रावलले भनेका छन्, ‘त्यसैले राष्ट्र हितमा अगाडि बढ्ने बालेन जी हुनुहुन्छ कि जोजो हुनुहुन्छ, ती सबलाई एकजुट गरेर राष्ट्रको हितमा अगाडि बढ्छौँ।’

पछिल्लो समय बालेन र एमालेका बिचमा केही तिक्तताको वातावरण छ। एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बालेन विरुद्ध र बालेनले एमाले विरुद्ध विभिन्न अभिव्यक्ति दिँदै आएका छन् । यस्तोमा रावलले आफू ओलीकै कारण निष्कासित भएकाले बालेनबाट सहानुभूति पाइन्छ कि भन्ने आशामा पनि हुनसक्ने राजनीतिक वृत्तमा चर्चा छ । 

तर, रावलको यो अभिव्यक्ति उनको निजी चाहना मात्रै रहेको मेयर बालेनको सचिवालय बताउँछ । हालसम्म सहकार्यका विषयमा आधिकारिक तहले रावलबाट कुनै कुरा नआएको बालेनको सचिवालयले जानकारी दियो। 

‘भेटघाटका फोनहरू त आइरहेका नै हुन्छन्।  भीम रावलसँग भेट्ने भन्ने कुनै कुरा आएको छैन। त्यस्तो राजनीतिक भेटघाटका लागि समय पनि छैन’, सचिवालयका एक सदस्यले भने । ती सदस्यले मेयर बालेनसँग पनि ‘त्यस्तो प्रकृतिका भेटका लागि कुनै समय नभएको’ बताउँछन् । 

‘अहिले आफ्नै काममा व्यस्त हुनुहुन्छ। त्यस्तो कुनै राजनीतिक दलसँग भेट्ने, मिल्ने उहाँको समय छैन। त्यस्तो सोच पनि छैन। आफ्नो कामलाई कसरी राम्रो बनाउने भन्नेमा हुनुहुन्छ’, सचिवालय ती सदस्यले भने। राजनीतिक रूपका कसैबाट कोही पीडित भएको भन्दैमा सहानुभूति दर्शाइ हाल्नुपर्छ भन्नेमा बालेन हुन नसक्ने ती सदस्य बताउँछन् । 

यता पछिल्लो समय बालेनसँग सहकार्य गर्न चाहने र बालेनबाट सहानुभूतिको आशा राख्ने रावल एक्लो भने होइनन् । सहकारी ठगी प्रकरणमा प्रहरीको हिरासतमा पुगेपछि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेबाट सकारात्मक अभिव्यक्तिको आशा राख्दै आएको तथ्य खुलासा भइसकेको छ। सरकारले प्रतिशोध साँधेर रविलाई पक्राउ गरेको भन्दै रास्वपाका नेताहरू नै बालेनलाई गुहार माग्न थालेका थिए । केही रास्वपा नेताहरू बालेनसँग समयको माग गर्दै लगातार सचिवालय सदस्यसँग हारगुहारमा थिए । तर, बालेनले कसैसँग भेट्न चाहेनन् । सचिवालयले रास्वपा नेताहरू मात्र नभई अन्य कुनै दलका नेताहरूसँग भेट्न समय नभएको भन्दै इन्कार गरेको थियो । 

त्यसअघि रास्वपा तत्कालीन महामन्त्री डा. मुकुल ढकालले ‘समीक्षा यात्रा’को प्रतिवेदनमा पुराना दलसँग नभई बालेन, धनगढी उपमहानगरका मेयर गोपाल हमाल, धरान उपमहानगरका मेयर हर्क साम्पाङहरूसँग सहकार्य गर्नुपर्ने मत राखेका थिए ।

यसरी बेलाबेला राजनीतिक नेता र दलबाट सहकार्यको कुरा उठ्दा स्वयं बालेन भने कुनै अभिव्यक्ति दिँदैनन्। न ती प्रस्तावक नेतासँग भेटेका कुरा बाहिरिएका छन्। तर, उनका सार्वजनिक अभिव्यक्ति भने राजनीतिक नेतृत्वविरुद्ध निकै खरो सुनिन्छन् । 

किन बालेनको साथ खोजिन्छ ? 

मेयर बालेनका कानुनी सल्लाहकार समेत रहेका अधिवक्ता ओमप्रकाश अर्याल उनको लोकप्रियतालाई उपयोग गर्न सहकार्यको प्रस्ताव आउने गरेको टिप्पणी गर्छन् । 

‘देशभर अहिले बालेन जीको लोकप्रियता छ । जुन समसामयिक राष्ट्रिय राजनीतिमा बालेन फ्याक्टर बनिसक्यो । त्यसको राजनीतिक महत्त्व छ,’ अधिवक्ता अर्याल भन्छन्,‘त्यसलाई देखेर  बालेनजीलाई र उहाँको लोकप्रियतालाई उपयोग गर्न यी अभिव्यक्ति आइरहेका हुन्।’ 

बालेनकै लोकप्रियताका कारण अधिकांश नेतामा ‘बालेनसँग भेट्न पाए हुन्थ्यो, सँगसँगै हिँड्न पाए हुन्थ्यो भन्ने’ स्वार्थ मनमा रहेको उनी बताउँछन् । 

 अधिवक्ता ओमप्रकाश अर्याल

तर बालेनले भने कसैसँग सहकार्य वा सङ्गत गर्न चाहेको देखिएको छैन । अर्यालको बुझाइमा बालेन आफै नेता भएकाले अरूको उपयोगका लागि प्रयोग हुन नसक्ने बताउँछन्. । ‘बालेन आफ्नो पङतीका आफैमा नेता हुन्। अरू पङतीमा गएर मिसिने, अरूलाई नै नेता बनाउने भन्ने कुरा नि नहोला,’ उनले भने । 

राष्ट्रिय राजनीतिमा बालेन अब वैकल्पिक नेताका रूपमा उदाइसकेको पनि अर्यालको दाबी छ । ‘आम जनताले अब पुराना दल, सरकारमा गएका नेतालाई एउटै वर्गमा राखिसके,’ उनले भने,‘त्यो बाहेक अर्को कोही वर्ग छ, भने त्यो बालेन हो । नयाँ जेनेरेसनको नेता अब बालेन हो।’

राष्ट्रिय राजनीतिको कुनै किनारामा रहेका व्यक्तिले ‘बालेन पङ्ती’ आफूसँग छ भन्ने जनतामा देखाउनकै लागि यस्ता सहकार्यका, सकारात्मक अभिव्यक्तिका बोली बोलिरहेको पनि अर्यालको टिप्पणी छ। यसलाई उनी अवसरवादी राजनीतिका रूपमा पनि व्याख्या गर्छन्। ‘आफू साह्रै किनारामा परियो, बालेनको नेतृत्व स्वीकार गरेर फेरी मूलधारमा आउन सकिन्छ कि भन्ने लागेको हुनसक्छ । मलाई लाग्छ त्यसो हुन सक्दैन अब’, उनले भने। 

राजनीतिक विश्लेषक कृष्ण पोखरेल मूलधारमा रहेका नेतामा बालेनको डाहा र किनारामा पुगेका नेतामा बालेनको आशा दर्साइरहेको बताउँछन् । ‘एक थरीमा बालेनको लोकप्रियतासँग एक खालको डाहा छ। डाहा भएकाले उनलाई अवरोध गर्न खोजिरहेका छन्,’ उनले भने, ‘मेरो टक्करमा आयो, म भन्दा बढी भयो भन्ने सोच उनीहरूमा छ।’

राजनीतिक विश्लेषक कृष्ण पोखरेल

किनारामा परेकाहरूमा बालेनको लोकप्रियताको फाइदा र त्यसबाट समर्थन आशासहित सहकार्यको अभिव्यक्ति आउने गरेको पोखरेल बताउँछन्। बालेनले के गर्छन् त्यो भने हेर्न बाँकी रहेको विश्लेषक पोखरेलको भनाई छ । 

प्रकाशित: ४ माघ २०८१ १९:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App