गृहमन्त्री रमेश लेखकले काठमाडौं जिल्ला अदालत परिसरमा बुधवार अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको हातपात निन्दनीय भएको बताएका छन्।
बिहीबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवासमा पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूसँग कार्य प्रगति विवरणबारे जानकारी गराइसकेपछि सञ्चारकर्मीहरूसँग उनले यस्तो बताएका हुन्।
उनले अराजक गतिविधि गर्नेलाई कारबाही हुने बताए। उनले नेपालमा व्यवसायिक स्वतन्त्रता रहेको बताए। बुधवार स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा थुनछेक बहस सकिएपछि बाहिर निस्किने क्रममा अधिवक्ता त्रिपाठीमाथि हातपात भएको थियो ।
उनले भने, ‘जोसुकैले गरेपनि यो देशमा लोकतन्त्र छ । व्यवसायिक स्वतन्त्रता छ । मानिसले आफ्नो आफ्नो व्यवसाय गर्न पाउँछ । वकिलले वकालत गर्न पाउँछ, डाक्टरले डाक्टरको काम गर्न पाउँछ । बिजनेसम्यानले व्यापार गर्न पाउँछ । त्यसमा बाधा, व्यवधान गर्ने, उश्रृंखलता गर्ने, अराजकता गर्ने, कानून विपरीत काम गर्ने, जो सुकैलाई पनि दण्डित गरिन्छ । जहाँसम्म दिनेश त्रिपाठीमाथि घटना भएको छ । यो अत्यन्त निन्दनीय काम हो । अत्यन्त गलत काम भएको छ । यस्तो अराजकता गर्ने जो सुकै पार्टीका मानिस भएपनि कारबाही हुन्छ ।’
प्रकाशित: ३ माघ २०८१ १४:२५ बिहीबार