राजनीति

राप्रपाको चियापानमा ओली-देउवादेखि कुलमान- अनुराधासम्म (तस्बिरहरु)

पृथ्वीनारायण शाहको ३०३औँ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भृकुटीमण्डपमा विशेष जलपान समारोहको आयोजना गरेको छ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू, सरकारका उच्च अधिकारीहरू, र सामाजिक क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहेको छ।

राप्रपाले जलपानमा प्रधानमन्त्री, मन्त्रिपरिषद्का सदस्यहरू, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, विभिन्न राजनीतिक दलका अध्यक्षहरू, पूर्व प्रधानमन्त्रीहरू, संवैधानिक निकायका प्रमुखहरू, विदेशी कूटनीतिक नियोगका प्रतिनिधिहरू, सुरक्षा निकायका प्रमुखहरू, कलाकार, खेलाडी तथा विभिन्न पेसागत संघसंस्थाका प्रमुखहरूलाई निमन्त्रणा दिएको थियो।

चियापान कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, सभामुख देवराज घिमिरे, गृहमन्त्री रमेश लेखक, अर्थमन्त्री विष्णु पाैडेल, परराष्ट्रमन्त्री आरजु राणा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, रास्वपाका कार्यवाहक सभापति डिपी अर्याल, महामन्त्री कविन्द्र बुर्लाकोटी, राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाल, स्वतन्त्र सांसद अमरेश कुमारसिंह, माइती नेपालका संस्थापक अध्यक्ष अनुराधा कोइराला, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायतको उपस्थिति देखिएको छ।

यसअघि, राप्रपाले दरबारमार्गस्थित महेन्द्र सालिकदेखि सिंहदरबारअगाडि रहेको पृथ्वीनारायण शाहको सालिकसम्म राष्ट्रिय एकता र्‍याली आयोजना गरेको थियो। र्‍यालीपछि शाहको सालिकमा माल्यार्पण गरिएको थियो।

नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०३औँ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा यो कार्यक्रम आयोजना गरिएको हो। वि.सं. १७७९ मा जन्मिएका शाहले २० वर्षको उमेरमा गद्दी आरोहण गरी आन्तरिक तथा बाह्य शक्तिलाई पराजित गर्दै नेपाल एकीकरण अभियान सञ्चालन गरेका थिए।

तस्बिरहरु : दिपेश दर्शनधारी/नागरिक

प्रकाशित: २७ पुस २०८१ १५:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App