नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आफूभन्दा जान्ने कोही नभएको ठान्ने व्यक्तिका रूपमा टिप्पणी गरेका छन्।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले ओलीले आफूलाई ‘ज्ञानको भण्डार’ ठान्ने गरेको जिकिर गरे। उनले ओलीको यही अहंकारकै कारण एमालेभित्र समस्या उत्पन्न भएको बताए।
नेपालले भने, ‘ओलीले मलाई जति जानेको कोही छैन, ज्ञानको म एक्लो भण्डार हुँ भन्ने ठान्छन्। यही अहंकारकै कारण एमालेभित्र समस्या खडा भयो। एक्लै निर्णय गर्ने, चुनौती दिने व्यक्तिहरूलाई शत्रु ठान्ने र पत्तासाफ गर्ने प्रवृत्ति सुरु भयो।’
उनले ओलीको यस्तो प्रवृत्तिले आफूलाई र अन्य १३ सांसदलाई पार्टी र संसदबाट हटाउने निर्णय गराएको बताए। ‘हामीलाई सभामुख अग्नि सापकोटाले जोगाउनुभयो। उहाँलाई धन्यवाद। नत्र हाम्रो हालत पनि अहिले एमालेभित्र रोइकराई गर्नेहरूको जस्तै हुन्थ्यो,’ नेपालले थपे।
अध्यक्ष नेपालले माघ २ गते बस्न गइरहेको पहिलो बैठकका लागि सहकार्यका लागि आह्वान पनि गरे। ‘हामी पहिलो बैठक बस्न जाँदै छौं। अरुलाई पनि भनौं– मन मिल्छ, विचार मिल्छ भने सँगै जाउँ, सहकार्य गरौं,’ उनले भने।
देशका राजनीतिक दलहरूभित्र आन्तरिक समस्याहरू रहेको उल्लेख गर्दै नेपालले भने, ‘माओवादीमा आफ्नै समस्या छन्, एमालेमा आफ्नै छन्। तर हामी राष्ट्रको समस्या र जनताको समस्याबारे चिन्तित छौं।’
नेपालले सहकार्य र विचार मिलेर अघि बढ्न सबैलाई आग्रह गर्दै पार्टीभित्रको एकता र राष्ट्रिय मुद्दामा सहकार्य गर्नुपर्नेमा जोड दिए।
प्रकाशित: २७ पुस २०८१ १५:०५ शनिबार