राजनीति

रास्वपाको खुसीमा 'अङ्कुश' !

सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते काठमाडौंमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने बिहीबार (आज) ६५ लाख धरौटीमा छुटे।

लामिछाने पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणबाट मात्रै तत्कालका लागि छुटेका हुन्। काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको साहारा, पर्साको सानो पाइला र बुटवलको सुप्रिम सहकारीको प्रक्रिया अझै बाँकै छँदैछ।

तर, लामिछानेले सूर्यदर्शनबाट तत्कालका लागि फार्से पाउँदा रास्वपा नेता, कार्यकर्ता, समर्थक तथा सुभेच्छुकहरू खुसी भए। कास्की पुग्नेहरू कास्कीमै नाराबाजीसहित नाचे, झुमे। त्यता नपुग्नेहरूले सामाजिक सञ्जालहरूमा उनको पक्षमा टिप्पणी गरेर खुसीयाली मनाए।

यो पनि पढ्नुहोस्

अदालतको पूर्णपाठ- रवि कसुरदार रहेनछन् भन्न सकिएन

सँगै खुसीयाली मनाउनेहरूले लामिछाने दोषी नदेखिएको समेत बताउन भ्याए। रास्वपा कार्यवाहक महामन्त्री कबिन्द्र बुर्लाकोटीले भनेका छन्, 'पार्टी सभापति रवि लामिछानेज्यूलाई जिल्ला अदालत कास्कीले ६५ लाख धरौटीमा छाड्न आदेश गरेको छ। सरकारले जबरजस्ती हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने औचित्य नरहेको पुष्टि भएको छ।'

यसबाहेक गणेश पराजुली, सोबिता गौतम, मनीष झा, ज्वाला सङ्ग्रौला, पुकार बम, लालविक्रम थापालगायतका नेताहरूले पनि खुसी साटेका छन्। उनीहरूले लामिछाने रिहा भएको बताउँदै विभिन् शब्दहरूमा खुसी साटेका छन्।

तर, प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसले भने लामिछानेले निर्दोष भएर ६५ लाख धरौटी बुझाएको नभएको प्रतिक्रिया दिएको छ। कानुनका ज्ञातासमेत रहेका कांग्रेस नेता मीन विश्वकर्माले कानुनको प्रक्रिया बुझ्न आग्रह गरेका छन्। 

'सबै अभियुक्तलाई धरौटी माग्नु र रकम फरक हुनुले बुझ्नुपर्छ कि ८८ लाख, ६५ लाख धरौटी निर्दोष भएकाले मागिएको होइन। कानूनी प्रकृया बुझ्न आवश्यक छ। जसरी मुद्दा लाग्नसाथ कोही दोषी ठहर हुँदैनन्, त्यसैगरी सादा तारिख वा धरौटीमा छुटेका सबै निर्दोष हुँदैनन्,' विश्वकर्माले भनेका छन्।

यो पनि पढ्नुहोस्

८४ दिनमै छुटे रवि, के होला मिसन-८४ ?

प्रकाशित: २५ पुस २०८१ २१:०२ बिहीबार

#Raswapa