राजनीति

सौराहामा हात्तीले वनभोज खाए, फुटबल खेले

चितवनको पर्यटकीय क्षेत्र सौराहामा बिहिबारदेखि जारी १८औं चितवन हात्ती तथा पर्यटन महोत्सवमा हात्तीलाई वनभोज खुवाइएको छ। शनिबार बाघमारा सामुदायिक बनको मैदानमा सरकारी र निजी ३५ वटा हात्तीलाई वनभोज खुवाइएको हो। वनभोजमा हात्तीलाई मन पर्ने खानेकुरा दिइएको थियो।

हात्तीलाई उखु, केरा, मकै, भुइँकटर, गाजर, बन्दा, सुन्तला, ड्रागन, स्याउ, फर्सीलगायत विभिन्न खानेकुरा खुवाइएको युनाइटेड हात्ती संचालन सहकारी संस्थाका अध्यक्ष दिपेन्द्र खतिवडाले जानकारी दिए। यस्तै, चामललाई भेलीमा पकाएर हात्तीलाई मनपर्ने परिकार खिर बनाएर खुवाइएको छ।

‘यो परिकार हात्तीलाई निकै मनपर्ने खानेकुरा हो, खतिवडाले भने, १८ प्रकारका विषादीरहित परिकार हात्तीलाई खुवाइएको छ।’ एक दिन भए पनि सबै प्रकारका खानेकुरा एकै समयमा सबै हात्तीलाई खुवाउँदा मनोरञ्जन हुनुका साथै हात्तीले पनि सबै खानाको स्वाद लिन पाउने भएकाले वनभोज कार्यक्रम राखिएको उनले बताए।

‘जसरी हामी वनभोज खान जाँदा रमाउँछौं, त्यसरी नै हात्तीलाई मनपर्ने खानेकुरा खुवाउँदा हात्ती खुसी हुन्छन्,’ उनले भने, ‘राम्रो खुवाउने र स्याहार गर्नुपर्छ भन्ने सन्देश पनि हो यो।’ उनले हात्तीलाई काम मात्र लगाउने होइन पालनपोषण पनि गर्ने गरिन्छ भन्ने सन्देश वनभोजले दिने बताए।

पर्यटकको आकर्षणका लागि सन् २०१४ देखि हात्तीको वनभोज कार्यक्रम सञ्चालनमा छ। वनभोजमा हात्तीलाई खुवाउन दर्शकको भीड लागेको थियो। महोत्सव हेर्न आएका पर्यटकले हात्तीको वनभोज निकै आकर्षक मानेर हेरेका थिए।

क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको सन्दर्भ पारेर क्षेत्रीय होटल संघ (हान) सौराहाले सन् २००५ देखि हात्ती महोत्सव गर्न थालिएको थियो। १८ औं संस्करणको हात्ती महोत्सव सौराहा नजिक रहेको बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा पुस १५ गते सोमबारसम्म महोत्सव सञ्चालन हुने छ।  

महोत्सवमा हात्तीको पेनल्टी सुट आउट, सुन्दरी प्रतियोगिता र हात्तीहरूको वनभोज कार्यक्रम आयोजना गरिएको हो।

नेपालमा एक सय ५० वटा हात्ती निजी स्तरमा पालिएका छन्। कलात्मक रुपमा सजिएका हात्तीले वनभोज खाँदै गरेको क्षण नजिक भएर सेल्फी खिच्नेको भिड रोचक थियो। ताजा फलफूल सुँड घुमाई घुमाई मुखमा हाल्दै मर्काउँदा आनन्द अनुभव गरिरहेको भाव हात्तीका आँखाबाट हेर्न लायक भएको क्षेत्रीय होटेल संघ सौराहाका उपाध्यक्ष ओम पाण्डले जानकारी दिए।

चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती सामुदायिक वन र यससँगै बग्ने नदीमा रहेका वन्यजन्तु, चराचुरुङ्गी, जलचरलगायतको अवलोकन गर्न बर्सेनि सौराहामा स्वदेशी तथा विदेशी पर्यटक आउने गर्दछन्।

हात्तीको फुटबलमा थारु कल्चर र युनिक वाइल्डलाइफ फाइनलमा

त्यसअघि हात्तीको फुटबल पेनाल्टी सुटआउट आयोजना गरिएको थियो। आज भएको सेमिफाइनलबाट थारु कल्चर भिलेज र युनिक वाइल्डलाइफ रिसोर्ट फाइनलमा प्रवेश गरेको छ।

पेनाल्टी सुटआउट १–१ गोलको बराबरी भएपछि सडनदेथमा पनि पेनाल्टी बराबरी हुँदा गोला प्रथाबाट थारु कल्चर भिलेज र युनिक वाइल्डलाइफ रिसोर्ट फाइनलमा प्रवेश गरेको हात्ती महोत्सवका खेलकुद तथा कलाकार संयोजक ऋषिराम तिवारीले जानकारी दिए।

उनका अनुसार यसअघि हिजो इको एडभेन्चर रिसोर्ट र होटल रिभरसाइड फाइनलमा प्रवेश गरेका थिए। भोलि हुने फाइनलमा ४ टिमबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा कुल ८ टिमको सहभागिता रहेको थियो।

प्रकाशित: १३ पुस २०८१ १९:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App