नेकपा एमालेको स्थायी कमिटी सदस्यबाट निलम्बनमा परेकी बिन्दा पाण्डेले आफूमाथि गरिएको कारबाही कुण्ठित मानसिकताको उपज भएको बताएकी छन्।
बुधबार पार्टी निर्णयपछि नागरिक न्युजसँग छोटो प्रतिक्रिया दिँदै आफूहरूलाई जिम्मेवारीबाट हटाएर कस्तो पार्टी बनाउन खोजेको हो ? भनी प्रश्न समेत उठाएकी छन्।
‘एमालेले बुधबार गरेको निर्णय कुण्ठित मानसिकताको उपज हो,’ उनले भनिन्, ‘भीम रावललाई पार्टीबाट निकाल्ने, म र उषाकिरण तिम्सिनालाई जिम्मेबारीबाट हटाउने निर्णय गरेर हाम्रा नेताहरुले कस्तो एमाले बनाउन खोज्दै हुनुहुन्छ खै ?’
पार्टीको केन्द्रीय कार्यालय निर्माणमा व्यवसायी मिनबहादुर गुरुङले दिएको जग्गादानका विषयमा प्रश्न उठाएपछि एमालेले पाण्डे र तिम्सिनालाई स्थायी कमिटी सदस्यबाट ६ महिनाका लागि निलम्बन गरेको जनाएको छ।
प्रकाशित: १० पुस २०८१ १९:२१ बुधबार