राजनीति

शीर्ष ब्याटरले अपेक्षित प्रदर्शन गर्न सकेनन्: सोमपाल

कर्णाली याक्सका कप्तान सोमपाल कामीले जनकपुर बोल्ट्ससँग आठ विकेटको फराकिलो हारपछि माथिल्लो क्रमका शिर्ष पाँच ब्याटरले राम्रो प्रदर्शन गर्न नसक्दा सोचेभन्दा ३० रन कम योगफल बन्न पुगेको गुनासो गरेका छन्।

उनले १७० रनसम्मको योगफल बनाउने लक्ष्य रहे पनि शिर्ष ब्याटरले महत्त्वपूर्ण भूमिका खेल्न नसक्दा हार व्यहोर्नुपरेको बताए।

‘आजको पिचमा खेल्न सजिलो थिएन तर जनकपुरका अनिल साह र आसिफ शेखले उत्कृष्ट सट सेलेक्सन गर्दै सहज रूपमा राम्रो ब्याटिङ गरे,’ सोमपालले भने। उनले आफ्नो टोलीका घरेलु खेलाडीहरूले आगामी खेलमा सुधार गर्दै जित दिलाउने विश्वास पनि व्यक्त गरे।

विदेशी खेलाडीहरूको प्रदर्शनबारे बोल्दै सोमपालले उनीहरूले आशा गरेअनुसार खेल्न नसकेको नभई पिचको परिस्थितिलाई बुझ्न गाह्रो भएको टिप्पणी गरे।

उनले आफ्नो टोलीमा राम्रो ब्याटर र बलर रहेको भन्दै गल्ती सुधार गर्दै आगामी खेलमा राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरे।

‘योजनाअनुरूप खेल भयो,’ जनकपुरका प्रशिक्षक पुबुदु

जनकपुर बोल्ट्सका प्रशिक्षक पुबुदु दसानायकेले टोलीको योजनाअनुसार नै नतिजा आएको बताए। उनले खेल्दै जाँदा पिच राम्रो हुँदै जाने भएकाले पछि ब्याटिङ गर्दा केही सहज हुनेमा आफू विश्वस्त रहेको धारणा राखे।

‘अन्तिम दुई ओभर हाम्रो लागि चुनौतीपूर्ण रहे पनि अनिल साह र आसिफ शेखले उत्कृष्ट प्रदर्शन गरे,’ प्रशिक्षक पुबुदुले भने। विदेशी खेलाडीहरू ब्याटिङमा संघर्ष गरिरहेको अवस्थामा घरेलु खेलाडीहरूको प्रदर्शनले नतिजा राम्रो बनाएकोमा उनी खुशी देखिए।

प्रकाशित: १७ मंसिर २०८१ २१:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App