राजनीति

८४ अघि नै सरकारको नेतृत्व लिनसक्छौं: लिङदेन

फाइल।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले ०८४ अघि नै राप्रपाले सरकारको नेतृत्व गर्नसक्ने दाबी गरेका छन्।

आइतबार बिर्तामोड नगर अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले राप्रपाले मुलुकको नेतृत्व गर्न सक्रियता बढाउनुपर्ने समय आएको बताए।

अध्यक्ष लिङदेनले वर्तमान सरकारप्रति जनताको असन्तोषलाई अवसरका रूपमा लिँदै राप्रपाले अब देशको नेतृत्व गर्ने लक्ष्य राखेको उल्लेख गरे।

"०८४ भन्दा अघि नै सके सरकारको नेतृत्व हामी लिन्छौं, नभए ०८४ को निर्वाचनबाट मुलुकको सबैभन्दा ठूलो राजनीतिक शक्ति बनेर अगाडि बढ्छौं," उनले भने।

लिङदेनले नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको नेतृत्वमा बनेको सरकार जनताको बीचमा अलोकप्रिय भएको आरोप लगाए। "प्रधानमन्त्री र मन्त्रीहरू जनताबीचमा जानै नसक्ने स्थितिमा पुगेका छन्। कांग्रेस, एमाले, र माओवादीको क्रियाकलापबाट जनता परिचित भइसकेका छन्," उनले भने।

अध्यक्ष लिङदेनले राप्रपाले आफ्नो शक्ति चिन्न नसकेकोमा चिन्ता व्यक्त गरे। "हामीसँग पर्खिने वा हेर्ने समय छैन। अब राष्ट्रिय प्रजातन्त्र पार्टीले यो मुलुकको नेतृत्व गर्नैपर्छ। यदि ०८४ को चुनावमा पनि राप्रपा पहिलो पार्टी बन्न सकेन भने अर्को कुन पार्टी बन्ने हो ?" उनले प्रश्न गरे।

राप्रपाले अब संगठन विस्तार र जनसम्पर्कमा विशेष ध्यान दिनुपर्ने उल्लेख गर्दै लिङदेनले पार्टीका कार्यकर्ताहरूलाई क्रियाशीलता बढाउन आह्वान गरे। उनले वर्तमान परिस्थितिमा राप्रपाको भूमिकाले देशलाई नयाँ दिशा दिनसक्ने दाबी गरे।

राप्रपाले मुलुकको राजनीतिक परिदृश्यमा आफ्नो प्रभाव बढाउन दृढ संकल्पका साथ अगाडि बढ्ने तयारी गरिरहेको अध्यक्ष लिङदेनले बताए।

प्रकाशित: १६ मंसिर २०८१ १६:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App