राजनीति

विपन्न बालबालिकाको स्वेच्छिक अभिभावकत्व ग्रहण गर्न आग्रह

काठमाडौं- मन्त्रिपरिषद बैठकले विपन्न, गरिब तथा सीमान्तकृत बालबालिका खोजी गरि विद्यालयमा भर्ना गर्न केन्द्र तथा प्रदेश सरकारका मन्त्रीहरुलाई निर्देशन दिएको छ। सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटाका अनुसार सरकारका मन्त्री, सरकारी कर्मचारी, स्थानीय तहका पदाधिकारी, राजनीतिक दलका नेता, विद्यालय व्यवस्थापन समिति, कलाकार, सञ्चारकर्मी, व्यवसायी तथा सचेत नागरिकलाई एक जना विपन्न बालक वा बालिका खोजी गरि विद्यालयमा भर्ना गरि स्वेच्छिक अभिभावकत्व ग्रहण गर्न मन्त्रिपरिषदले अनुरोध गरेको छ। 'नागरिकको लागि नागरिकद्वारा उत्तरदायित्व', ग्रहण गर्ने अभियान अन्तर्गत मन्त्रिपरिषदले यस्तो निर्णय गरेको बाँस्कोटाले बताए।

यस्तै मन्त्रिपरिषदले प्रधानमन्त्री कार्यालयका सचिव राजिव गौतमलाई कानुन सचिवमा सरुवा गरेको छ। प्रधानमन्त्री कार्यायको सचिवमा डिल्लीराज घिमिरेलाई बढुवा गरि पदस्थापना समेत गरेको छ।

मन्त्रिपरिषद बैठकमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक (अाइजीपी) नियुक्तिबारे छलफल हुने भनिए पनि बैठक त्यसतर्फ प्रवेश नगरेको बताइएको छ। दुवै सुरक्षा निकायका प्रमुखको भोली बिहीबारदेखि पदावधि सकिँदैछ।

प्रकाशित: २७ चैत्र २०७४ ०७:२४ मंगलबार

विपन्न बालबालिकाको स्वेच्छिक अभिभावकत्व ग्रहण गर्न आग्रह