राजनीति

अध्यक्ष दाहालद्वारा राईप्रति श्रद्धाञ्जली अर्पण

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीका केन्द्रीय सदस्य पदमबहादुर राईको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरेका छन्।

पार्टी कार्यालय पेरिसडाँडास्थित केन्द्रीय कार्यालय परिसरमा राखिएको केन्द्रीय सदस्य राईको पार्थिव शरीरमा उनले झण्डा ओढाएर सम्मान व्यक्त गरेका हुन्।

त्यस अवसरमा उपाध्यक्षहरू - अग्निप्रसाद सापकोटा र पम्फा भुसाल, पूर्वसभामुख ओनसरी घर्ती, पूर्वमन्त्री, सांसद, पार्टी नेता तथा कार्यकर्ताले उनीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।

भोजपुरको षडानन्द नगरपालिका बोयामा लालबहादुुर राई र दौलती राईको कोखबाट २०२३  पुस १५ गते जन्मिएका उनको मङ्सिर ८ गते बेलुका ५८ वर्षको उमेरमा पार्किन्सनको उपचारका क्रममा वीर अस्पताल निधन भएको थियो।

विसं २०४६ बाट अनेरास्ववियु छैटौँबाट राजनीतिमा प्रवेश गरेका राई २०४७ सालमा स्थानीय इकाइ सदस्य हुँदै सुनसरी र मोरङ जिल्ला सदस्य, भोजपुर जिल्ला सचिव, भोजपुर-तेह्रथुम-सङ्खुवासभा इञ्चार्ज, जनमुक्ति सेनाको ब्रिगेड कमिसार तथा पार्टी केन्द्रीय सदस्य हुँदै पोलिटब्यूरो सदस्यसम्मको जिम्मेवारी सम्हालेका थिए।

विसं २०६३ मा अन्तरिम व्यवस्थापिका संसद् सदस्य एवं भौतिक योजना राज्यमन्त्रीसमेत भएका उनी विसं २०६४ को संविधानसभा निर्वाचनमा भोजपुर क्षेत्र नं १ बाट निर्वाचिन भएका थिए। उनको निधनप्रति नेकपा (माओवादी केन्द्र)ले श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति समवेदना प्रकट गरेको गरेको छ।

पार्टी अध्यक्ष दाहालद्वारा जारी शोक वक्तव्यमा केन्द्रीय सदस्य राईको निधनले कम्युनिष्ट आन्दोलनमा अपूरणीय क्षति पुगेको जनाउँदै आम पार्टी पङ्क्ति र जनसमुदायमा शोकलाई शक्तिमा बदल्न आह्वान गरेका छन्। उनको आजै पशुपतिस्थित विद्युतीय शवदाह गृहमा दाहसंस्कार गरिने पार्टीले जनाएको छ। उनका श्रीमती, एक छोरा र एक छोरी छन्।

प्रकाशित: ९ मंसिर २०८१ १३:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App