राजनीति

मस्कसँग अमेरिकामै भेट्न चाहन्थे प्रधानमन्त्री ओली, नेपाल भ्रमणको निम्तो

मस्कको नेपाल चासो के हो ? के–के भयो कुराकानी ?

शुक्रवार अबेर राति प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमा एउटा तस्बिर पोस्ट गरे । जसको क्याप्सनमा ‘अहिले एलन मस्कसँग कुरा गर्दै छु’ भन्ने उल्लेख थियो ।

दिनभर सत्ताधारी दल नेकपा एमालेले काठमाडौंमा गरेको प्रदर्शनबारे तरङ्गित सामाजिक सञ्जालको माहौल त्यतातिर पनि सर्‍यो । एमालेको ‘जागरण सभा’मा प्रधानमन्त्री ओलीले खरो भाषण दिएका थिए । 

एक त सत्ताधारी एमाले सडक कब्जा र विपक्षीलाई तर्साउने रणनीतिमा साथ सडकमा ओर्लिएको थियो, अर्कातिर ओलीको विपक्षविरुद्धको बर्बर भाषण ।  सामाजिक सञ्जालको ‘असकुट्ठ’ भीडलाई ‘पर्याप्त मसला’ थियो । एमाले जन रक्षा/प्रतिरक्षामा उत्रँदा आलोचक विष बमन गरिरहेका थिए । 

त्यही बेला ओली–मस्कको भर्चुअल संवाद पनि मिसियो । 

इलन मस्क तिनै व्यक्ति हुन्, जसले विश्व महाशक्ति राष्ट्र अमेरिकामा भर्खर सम्पन्न राष्ट्रपतीय निर्वाचनमा निर्वाचित उम्मेदवार डोनाल्ड ट्रम्पको चुनावी प्रचारका लागि अबौं रकम उडाइदिए । निर्वाचनमा ट्रम्प जिताउन मस्कले एक सय मिलियन अमेरिकी डलर खर्च गरेको बताइन्छ । 

याे पनि पढ्नुहाेस्    मस्कको च्याँखेमा ह्यारिसको हार | Nagarik News

मस्कको परिचय यत्तिमा सीमित हुन्न । उनी प्रसिद्ध सामाजिक सञ्जाल कम्पनी एक्स(पुरानो ट्विटर)का संस्थापक पनि हुन् । यस्तै मस्कको अन्तरिक्ष कम्पनी स्पेस एक्सले अन्तरिक्ष यात्रामा निकै लाभदायक प्रविधि भर्खरै तयार गरेको छ । यही कम्पनीबाट उनी भविष्यमा मंगलग्रहमा मानिस बस्न मिल्ने ‘बेस’ बनाउने गरी काम गरिरहेका छन् ।

यस्तै अत्याधुनिक विद्युतीय कार कम्पनी टेस्ला, इन्टरनेट कम्पनी स्टारलिङ्कसहित अन्य दुई वटा कम्पनीका सञ्चालक पनि हुन् । उनी अहिले विश्वका अर्बपतिको सूचीमा दोस्रो नम्बरमा छन् ।  

डोनाल्ड ट्रम्पको चुनावी प्रचारका दौरानमा हुटिङ गर्दै इलन मस्क

ट्रम्पले जिते लगत्तै मस्क ‘महान्’ व्यक्ति भन्दै उनलाई आफ्नो सरकारको ‘डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसियन्सी’को प्रमुखमा नियुक्त गरिसकेका छन् । 

उनै मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवादलाई लिएर सामाजिक सञ्जालमा अर्को तरङ्ग छ । 

के के भयो कुराकानी ? 

प्रधानमन्त्री ओलीले मस्कसँग अमेरिकामै रहँदा भेट्न चाहेका थिए । गएको असोजमा संयुक्त राष्ट्र सङ्घको महासभामा प्रधानमन्त्री ओली अमेरिका गएका बेला मस्कसँग भेटको कुराकानी अघि बढेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

‘मस्क एक सफल व्यवसायी र लगानीकर्ता पनि हो । यसैले प्रधानमन्त्री ज्युले अमेरिकामा रहँदा भेट्न चाहनुभएको थियो । भेटको समय तय हुने क्रममा पनि थियो,’ सचिवालयका एक जना अधिकारी भन्छन्,‘यहाँ बाढी–पहिरोको प्रकोप सुरु भयो । त्यसैले भ्रमण छोट्टाएर आउनु परेपछि भेट सम्भव भएन ।’ त्यही बेलाको अहिले भर्चुअल संवाद भएको प्रधानमन्त्रीनिकट स्रोत बताउँछ ।

शुक्रवारको भर्चुअल संवादको समय केही दिन अघि मात्रै तय भएको हो । जसका आधारमा ११ मिनेट संवाद भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

भर्चुअल संवादमा प्रधानमन्त्री केपी ओली र इलन मस्क

संवादमा प्रधानमन्त्री ओलीले ट्रम्पको जितका लागि मस्कलाई बधाई दिए । यस्तै ट्रम्पलाई पनि आफ्नो तर्फबाट बधाई दिएको सुनाइदिन आग्रह गरे । ‘प्रधानमन्त्री ज्युले बधाई दिएपछि मस्कले धन्यवाद दिनुभयो,’ प्रधानमन्त्रीका प्रेस संयोजक रामशरण बजगाईँले भने,‘त्यसपछि मस्कले उहाँको व्यवसाय, व्यावसायिक चासो र नेपालमा पनि आफ्नो कम्पनी विस्तार गर्न चाहेको कुरा राख्नुभयो ।’ 

प्रधानमन्त्री ओलीले मस्कको व्यवसाय र व्यावसायिक जीवनबारे उनका कुरा सुने र आफू जानकार रहेको प्रतिक्रिया दिए । ‘नेपालका कम्पनी विस्तारका लागि भने प्रधानमन्त्री ज्युले थप अध्ययन गर्नुपर्ने र सरसल्लाह गर्ने प्रतिक्रिया दिनुभयो,’ प्रेस संयोजक बजगाईँले भने । त्यसै क्रममा ओलीले  मस्कलाई नेपाल भ्रमणको निम्तो दिए । 

‘प्रधानमन्त्री ज्युले नेपाल भ्रमणमा आउनुस्, निमन्त्रणा छ भन्नुभयो,’ बजगाईँले भने,‘यही बसेर तपाईँको योजना सुनेर आवश्यक निर्णय गरौंला भनेर कुराकानी टुंगियो ।’ 

‘चीनलाई भड्काउने प्रयास’

मस्कको संवादलाई लिएर प्रधानमन्त्री ओलीको चीन भ्रमण बिथोल्न प्रयास भइरहेको प्रधानमन्त्रीको सचिवालयले आसंका गरेको छ । ‘यहाँ मस्कसँग सम्झौता भइसक्यो, उसको कम्पनी नेपाल आइसक्यो । चीन विरुद्ध प्रधानमन्त्री लागिसके भनेर अनर्गल हल्ला फैलाउन थालिएको छ,’ सचिवालय स्रोतले भन्यो,‘यतिसम्मका निकृष्ट काम सुरु भएका छन् ।’ 

‘कसले ग¥यो ?’ भन्ने प्रश्नमा ती अधिकारीले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रतर्फ लक्षित गरे । ‘नितान्त एक व्यवसायीसँगको कुरा हो । उहाँको व्यवसाय र लगानीको नेपालको हित हुन्छ भने किन छलफल नगर्ने ? त्यसमा कुनै राजनीति, कूटनीति वा छिमेकलाई हानी हुने कुरा छैन । फेरी अमेरिकी निर्वाचन हुनु अगावै देखि मस्कसँग संवाद गर्ने कुरा भएको थियो,’ सचिवालय स्रोतले भन्यो । 

स्टारलिंक विस्तारमा मस्कको चासो  

मस्कले आफ्नो स्याटेलाइट इन्टरनेट सेवा कम्पनी स्टारलिंकको सेवा नेपालमा बिस्तार गर्न चासो देखाइरहेको छ ।  भदौमा स्टारलिंक कम्पनीकी निर्देशक रेबेका हन्टरले सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङलाई केही समय अघि भेटेर नेपालमा काम गर्न इच्छुक रहेको जानकारी दिएकी थिइन् । 

हन्टरसँग अमेरिकी राजदूत डिन आर थम्पसनले पनि मन्त्री गुरुङलाई भेटेको खबर बाहिरिएका थिए । मन्त्री गुरुङले त्यति बेला छलफल गरेर निर्णय भए बोलाउने प्रतिक्रिया दिएका एक अन्तर्वार्तामा भनेका छन् । 

मस्कको स्टारलिंकले पृथ्वीको बाहिरी कक्षमा हज्जारौं ससाना स्याटेलाइट राखेर विश्वका धेरै देशमा तीव्र गतिको इन्टरनेट सेवा दिइरहेको छ । जसको सेवा उच्च पहाडी र हिमाली ठाउँ तथा दुरदराजसम्म पुर्‍याउन सकिन्छ । नेपाल हिमाल र पहाडी मुलुक भएकाले यहाँका दुर्गम तथा विकट क्षेत्रमा इन्टरनेट सेवा पुर्‍याउन सकिन्छ भन्दै मस्कले चासो देखाइरहेका छन् । 

प्रकाशित: ८ मंसिर २०८१ १३:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App