राजनीति

एमालेले देश बनाउँछ, काम गर्न देऊ : महासचिव पोखरेल

सत्तारूढ दल नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले देश बनाउने काम एमालेले मात्रै गर्न सक्ने दाबी गरेका छन् ।

शुक्रबार काठमाडौंको दरबारमार्गमा आयोजित जागरण सभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो दाबी गरेका हुन् ।

"देश बनाउने काममा लागेका छौँ । एमालेले देश बनाउँछ । काम गर्न दिनुहोस्, देश बनाउने गरी काम एमालेले मात्रै गर्न सक्छ," उनले भने ।

महासचिव पोखरेलले नेपालमा सबैभन्दा दूरदर्शी नेतृत्व आफूहरूसँग मात्रै भएको जिकिर गरे । "देश बनाउनका लागि बलियो राजनीतिक दल चाहिन्छ, त्यो एमाले हो । नेपालमा दूरदर्शी नेतृत्व एमालेसँग मात्रै छ । केपी शर्मा ओलीको नेतृत्वमा सुखी नेपाली, समृद्ध नेपाल बन्छ," उनले भने ।

उनले एमाले जनताको मुटुमा रहेको बताए । "एमाले अलोकप्रिय भयो, एमाले जनताबाट टाढा भयो भन्ने हल्ला चलाइएको छ तर, एमाले जनताको बीचमा छ, एमाले जनताको मुटुमा छ," महासचिव शंकर पोखरेलले भने ।

फरक प्रसङ्गमा उनले लोडसेडिङ हटाउने काम एमालेको सरकारले गरेको दाबी गरे । तर, जस माओवादी केन्द्रलाई दिइएको उल्लेख गर्दै उनले भने, "नेपालमा काम अर्कैले गर्छ, जस अर्कैले पाउँछ ।"

प्रकाशित: ७ मंसिर २०८१ १४:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App