राजनीति

‘कपिलवस्तुदेखि सुपा देउरालीसम्म केवलकार संचालन आवश्यक’

<br>

पूर्वमन्त्री तथा सांसद सुरेन्द्रराज आचार्यले कपिलवस्तुदेखि अर्घाखाँचीको सुपा देउराली मन्दिरसम्म केवलकार सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

कपिलवस्तुको बुद्धभूमि नगरपालिका-२ गोरुसिंगेमा आयोजित चौथो बुद्धभूमि कृषि, व्यापार, सांस्कृतिक पर्यटन तथा औद्योगिक महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले केवलकारले धेरै पर्यटक भित्र्याउन सक्ने विश्वास व्यक्त गरे।

नेपाली कांग्रेसका प्रदेश महामन्त्रीसमेत रहेका आचार्यले सुपा देउराली मन्दिरसम्म केवलकार निर्माणका लागि तौलिहवा, बुद्धभूमि र चुत्रावेशी उद्योग वाणिज्य संघबीच सहकार्य आवश्यक रहेको बताए। ‘सुपा देउराली मन्दिरमा दैनिक हजारौँ भारतीय पर्यटक आउँछन्। बासस्थानको राम्रो व्यवस्थापन गर्न सके पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुग्छ,’ उनले भने।

उनले कृषि उत्पादन, हस्तकलाका सामग्री र अर्गानिक तरकारीको सहज बजार उपलब्ध गराउन सकिने भएकाले यस्ता प्रयासले स्थानीय नागरिकको आयआर्जन बढाउने उल्लेख गरे। महोत्सवजस्ता कार्यक्रमहरूले केवल नाचगान नभई स्थानीय कला, संस्कृति र उत्पादनको प्रदर्शन गर्नुपर्नेमा जोड दिँदै उनले मेलाको औचित्य त्यसैमा निर्भर हुने बताए।

महोत्सवको उद्घाटन विभिन्न जातजातिका नृत्य, पञ्चेबाजा र झाँकीसहित गरिएको थियो। १५० स्टल रहेको महोत्सव मंसिर ६ गतेदेखि सञ्चालनमा आएको हो र मंसिर १७ गतेसम्म जारी रहनेछ।

कार्यक्रमको अध्यक्षता शुभलाल भुसालले गरेका थिए।

प्रकाशित: ६ मंसिर २०८१ १९:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App