राजनीति

आम नागरिक अनुशासित नहुँदा वायु प्रदुषण बढ्यो: उपसभामुख राना

.

उपसभामुख इन्दिरा रानाले आम नागरिक अनुशासनहीन हुँदा नेपालमा वायु प्रदूषणको भयावह स्थिति सिर्जना भएको बताएकी छन्।

बिहीबार ‘विश्व बाल दिवस’को अवसरमा नेपाल कला परिषद्‌मा आयोजित फोटो प्रदर्शनी कार्यक्रममा सम्बोधन गर्दै उनले स्वस्थ र सुन्दर वातावरण बनाउन सबैले सभ्य र अनुशासित बन्नुपर्नेमा जोड दिइन्।

उनले सामुदायिक जंगलमा लाग्ने डढेलो नियन्त्रण गर्न नसक्नु र चुरोट जस्ता वायु प्रदूषण गर्ने वस्तु जथाभाबी फाल्नुका कारण वातावरण दुर्गन्धित बन्नुका साथै आउने पुस्तामा नकारात्मक सन्देश जाने बताइन्।

‘नेपालमा अहिले वायु प्रदूषणको कुरा गर्ने हो भने स्थिति निकै भयावह छ। वनजंगलभर डढेलो लागेको छ, हामी टुलुटुलु हेरिरहेका छौं। चुरोट खाएर धुवाँसहितको ठुटा जहाँतहीँ फाल्छौं। हामीसँग अनुशासन छैन। सुन्दर वातावरण बनाउन सभ्य नागरिक आवश्यक छ। आउँदो पुस्तालाई स्वस्थ वातावरण दिनुपर्छ,’ उनले भनिन्।

उनले अहिलेको युग ग्लोबलाइजेसनको युग भएकाले वातावरणलाई स्वस्थ राख्ने जिम्मेवारी सबै राष्ट्रको भएको पनि सुनाइन्। बालबालिकालाई स्वस्थ वातावरणको महत्त्व र फाइदाबारे जानकारी दिनुपर्ने आवश्यकता औँल्याउँदै उनले देशभरका बालबालिकाका लागि स्वस्थ वातावरण निर्माणमा सबै तहबाट सक्रियता देखाउन जरुरी रहेको उल्लेख गरिन्।

प्रकाशित: ६ मंसिर २०८१ १८:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App