पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन कात्तिक २६ गते नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा सहभागी भए। त्यसपछि उनी पुनः सक्रिय राजनीतिमा फर्किने चर्चा चुलिँदो छ। माओवादी नेता पुन उपराष्ट्रपति भएपछि सक्रिय राजनीतिमा छैनन्। माओवादीकै भाषामा उसले सञ्चालन गरेको ‘जनयुद्ध’मा पुन लडाकुका ‘डेपुटी कमान्डर’ थिए।
राजनीतिक वृत्तमा चर्चा के छ भने पुनलाई दाहालले पार्टी उपाध्यक्षको आश्वासन दिएर उक्त बैठकमा बोलाएका थिए र दाहालकै चाहनामा पुन सक्रिय राजनीतिमा फर्कनेछन्। दाहालका स्वकीय सचिव रमेश मल्ल भन्छन्, ‘उहाँहरूबिच के कुराकानी भयो, हामीलाई थाहा हुँदैन। नेताहरूबिचको कुरा हामीलाई के थाहा ? सचिवालयमा बसेर नभएको कुरा गर्नुहुन्न।’
पुन दाहालका सदाबहार सारथि हुन्। ‘जनयुद्ध’ताका होस् वा शान्ति प्रक्रियापछिस पुन सधैं दाहालकै प्रिय बने। पार्टीमा ब्याजीहरूको तुलनामा खासै लाभको पद नलिएका उनी दुई कार्यकाल उपराष्ट्रपति बने। पूर्वउपराष्ट्रपति भइसके पनि उनी पार्टीको सक्रिय राजनीतिमा छैनन्। यसबिच उनी गृहजिल्ला रोल्पा गए, त्यहाँ अनौपचारिकबाहेक औपचारिक राजनीतिक कार्यक्रममा सहभागी भएनन्। तर उनलाई कतिपयले राजनीतिमा सक्रिय हुन सुझाव दिए।
पुनले भने अहिल्यै कुनै निर्णय लिइसकेका छैनन्। उनका निकटहरूका अनुसार पुनले अवसर आउँदा पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बन्ने कि सक्रिय राजनीतिमा फर्किने भन्ने सन्दर्भमा निर्णय लिइसकेका छैनन्। पुनको सचिवालय सदस्य मनोज घर्तीमगर भन्छन्, ‘तत्कालै त केही भन्न सकिँदैन। उहाँले कुनै निर्णय लिइसक्नुभएको छैन।’ माओवादी केन्द्रका अध्यक्ष दाहाल भने पुन सक्रिय राजनीतिमा फर्किऊन् भन्ने चाहन्छन्। पुन आफूलाई हरदम साथ दिने नेता भएकाले पनि उनी सक्रिय राजनीतिमा फर्किंदा पार्टीभित्र आफूलाई सहज हुने दाहालको बुझाइ छ। यस विषयमा माओवादी केन्द्रका एक पदाधिकारी भन्छन्, ‘चाहना उहाँ (दाहाल) को हो, सँगै माओवादी पार्टीको पनि हो। मूलतः उहाँ स्वयंको चाहना होला।’
त्यसो त पार्टीभित्र दाहाललाई नेतृत्व छाड्नुपर्ने दबाब पनि पर्न थालेको छ। दाहालले नेतृत्व छाड्नुपर्छ भन्ने आवाजको नेतृत्व पार्टीमा उपमहासचिव जनार्दन शर्माले गरेको बताइन्छ। शर्माले गत साउन २७ गते बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा नेतृत्व हस्तान्तरण गरेर दाहाल संरक्षकको भूमिकामा रहनुपर्ने प्रस्ताव पेस गरेका थिए।
पार्टीभित्र शर्माको उक्त प्रस्तावमा समर्थक थपिँदै गएपछि ‘जोखिम’ को महसुस गरेका दाहाल तत्कालै देश दौडाहामा निस्किएका थिए। शर्माको नेतृत्व हस्तान्तरणको प्रस्तावमा मत सर्वेक्षण गरेका दाहालले देश दौडाहाबाट फर्किएपछि भनेका थिए, ‘जनताले माओवादीकै, मेरै नेतृत्वमा सुशासन र आर्थिक विकास होस् भन्ने चाहेका छन्।’ अर्थात् दाहाल केही ढुक्कै भए, माहोल शर्माको प्रस्तावको पक्षमा भन्दा आफ्नै पक्षमा रहेछ ! यसैले पनि दाहालले नन्दकिशोर पुन सक्रिय राजनीतिमा फर्किऊन् भन्ने चाहेको चर्चा माओवादी वृत्तमा छ। ‘पार्टीलाई पुनः जनतासँग जोड्ने कोसिस छ।
यसमा सबैको योगदान रहनुपर्छ भन्ने पार्टी र हामी सबैको मान्यता हो। त्यसमा उहाँ (पुन) पनि हुन सक्नुहुन्छ। उहाँ पार्टीमा फर्किंदा राम्रै हुन्छ भन्ने बुझाइ सबैको छ। त्यसमा बेखुशी कोही नहोला’, माओवादी एक नेता भन्छन्, ‘यसमा अध्यक्ष कमरेडको पनि असहमति छैन।’
त्यसो त दाहाल फुटेर गएका नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, महिन्द्र राय यादव–गंगानारायण श्रेष्ठ पक्षीय नेपाल समाजवादी पार्टी (नेसपा) सँग पनि पार्टी एकता गर्न चाहन्छन् छन्। पुन पनि सक्रिय राजनीतिमा पार्टीमा आफूलाई समर्थन गर्ने नेताहरू बढी हुने आकलन दाहालको छ। पुन सक्रिय राजनीतिमा फर्किंदा पार्टीलाई पनि राम्रो हुने र आफूलाई पनि राम्रो हुने स्व–विश्लेषण दाहालको रहेको बताइन्छ।
पुन सक्रिय राजनीतिमा फर्किने कि नफर्किने भन्ने अन्योल भइरहँदा माओवादी केन्द्रका नेताहरू भने उनी सक्रिय राजनीतिमा फर्किने स्पष्ट संकेत गर्छन्।
माओवादी केन्द्रका सचिव दीनानाथ शर्मा भन्छन्, ‘अहिले टुंगो लागिसकेको छैन। पार्टीले कुनै सुझाव दिएको वा उहाँ आफैंले निर्णय लिइसकेको अवस्था पनि होइन। तर बाहिरतिरको अभ्यास हेर्दाखेरि १४/१५ वर्षपछि पनि सक्रिय राजनीतिमा फर्किएको नजिर रहेछ।’ तर पूर्वउपराष्ट्रपतिसमेत भएका पुन फेरि राजनीतिमा सक्रिय हुने हो भने मुलुकको प्रणाली, त्यसमा हुने अभ्यास र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दृष्टान्त ख्याल गर्नुपर्ने मत शर्माको छ।
माओवादी केन्द्रका अर्का सचिव राम कार्कीको संकेत पनि यस्तै छ। ‘बाहिरतिर राजकीय तहमा पुगेका व्यक्ति सक्रिया राजनीतिमा फर्किएर सामान्य मेयरसमेत बनेका उदाहरण छन्। जहाँसम्म उहाँ (पुन) को सन्दर्भ छ, त्यसबारे छलफल होला, उहाँ आफैंले पनि सही विकल्प रोज्नुहोला’, कार्की भन्छन्।
सचिव कार्की पुनले ‘रिटायर्ड’ जीवन बिताउँदा पनि राम्रै हुने बताउँछन्। ‘राजकीय पदको जिम्मेवारीमा पुगिसककेपछि त्यसबाटै रिटायर्ड भएर बस्दा पनि हुन्छ।
अब चाहना भएकाको हकमा के हुने, के गर्ने भन्नेबारे राष्ट्रिय बृत्तमै छलफल गर्दा अझ राम्रो होला’, उनले भने। अर्का सचिव लीलामणि पोखरेलले पूर्वराष्ट्रपति विद्या भण्डारीसमेत राजनीतिमा फर्किन लागेको उल्लेख गर्दै भने, ‘पूर्वराष्ट्रपतिले त पार्टीको सदस्यता नवीकरण गरिसक्नुभयो, अब पूर्वउपराष्ट्रपतिको त के कुरा। उहाँ (पुन) ले त अझ राज्यबाट कुनै पनि सुविधासमेत लिनुभएको रहेनछ। उहाँ त फ्री हो।’
राज्यबाट कुनै सुविधा नलिएकाले पनि पुन सक्रिय राजनीतिमा आउने निर्णय गर्न स्वतन्त्र भएको भनाइ पोखरेलको छ। ‘कि त पूर्वप्रधानन्यायाधीश जस्तो संवैधानिक नियुक्ति लिन नपाउने भन्ने प्रावधान नै हुनुपर् र्यो नत्र त पूर्वउपराष्ट्रपतिको सन्दर्भमा त्यस्तो छैन’, उनले भने।
प्रकाशित: ५ मंसिर २०८१ ०७:१२ बुधबार