राजनीति

ग्रामथानको अध्यक्षका लागि १६ जनाको उम्मेदवारी दर्ता

.

मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि हुन लागेको उपनिर्वाचनमा १६ जनाको उम्मेदवारी दर्ता भएको छ।

तामझामका साथ कार्यकर्ताको भीड लिएर विभिन्न दलका केन्द्रीय स्तरका नेताहरु आ-आफ्नो उम्मेदवार लिएर मनोनयन दर्ता गराउन पुगेका थिए। मुख्य निर्वाचन अधिकृतको कार्यालयले सबै दलहरुलाई अलग अलग मनोनयन दर्ता गर्ने समय उपलब्ध गराएअनुसार उनीहरु दलबलसहित पुगेका थिए।

विभिन्न दलबाट १५ र स्वतन्त्रबाट १ जनाको उम्मेदवारी परेको छ। मनोनयन दर्ताका लागि आइतबार बिहान १० देखि साँझ ५ बजेसम्मको समय तोकिएको थियो। त्यस अवधिमा उम्मेदवारी दर्ता गराउनेमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट दिनेशकुमार थन्दार, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट नवीनकुमार विश्वास, नेकपा (एमाले) बाट तुलसीराम विश्वास, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) बाट धर्मेन्द्रकुमार चौधरीको उम्मेदवारी परेको छ।

त्यस्तै, नेकपा (माओवादी केन्द्र) बाट नमोनारायण माझी (उनी हालै कांग्रेस छाडेर माओवादीमा प्रवेश गरेका हुन्), नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट पर्शुराम विश्वास थारु, नेपाली कांग्रेसबाट बलराम सरदार थारु, मंगोल नेशनल अर्गनाइजेसनबाट भरत राई, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबाट रामकुमार चौधरी थारु, जनमत पार्टीबाट विनोदकुमार माझी, नागरिक उन्मुक्ति पार्टीबाट बुद्धिचन विश्वास, नेकपा (एकीकृत समाजवादी) पार्टीबाट दिलबहादुर विश्वकर्मा र कमल थापा नेतृत्वको राप्रपा नेपालबाट राजु मुसहरले मनोनयन दर्ता गराए।

त्यसैगरी, जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट सुरेशकुमार राजवंशी, समावेशी समाजवादी पार्टीबाट बोधनारायण माझीले मनोनयन दर्ता गरेका छन्। नमनारायण चौधरीले स्वतन्त्र उम्मेदवारी दिएका छन्। उनले एमालेविरुद्ध बागी उम्मेदवारी दिएका हुन्। ग्रामथानको अध्यक्षमा एमालेबाट चौधरीसहित ११ जना आकांक्षी थिए। पार्टीले तुलसीराम विश्वासलाई टिकट दिएपछि असन्तुष्ट बनेका उनले स्वतन्त्र उम्मेदवारी दिए।

२०७९ सालको स्थानीय तह चुनावबाट ग्रामथानको अध्यक्षमा नेपाली कांग्रेसका जयप्रकाश गच्छदार निर्वाचित भएका थिए। उनको गत असार ३ गते निधन भएसँगै रिक्त रहेको अध्यक्ष पदका लागि आगामी मंसिर १६ गते उपनिर्वाचन हुँदैछ।

यस गाउँपालिकामा ७ वटा वडा छन्। गत निर्वाचनमा एमालेले ५, काँग्रेस र माओवादीले १ र १ वटा वडामा वडाध्यक्ष जितेका छन्। ग्रामथानमा उपनिर्वाचनका लागि २६ हजार ४४ मतदाता छन्। सबै दलहरूले निरन्तर घरदैलो र मतदाता भेटघाट गर्दै भोट माग्न यसअघि नै थालिसकेका छन्। 

प्रकाशित: २ मंसिर २०८१ १८:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App