राजनीति

बिर्सिएका २० वर्ष: दीपक-चक्रेको त्यो गुन्डाराज

६० को लडाइँ ८१ मा फैसला

कुनै बेला एकसाथ दीपक मनाङे (बायाँ) र चक्रे मिलन। फाइल तस्बिर: नागरिक

२०६० को दशकमा गुन्डागर्दीका ‘बादशाह’ मानिएका दीपक मनाङे (राजीव गुरुङ) र चक्रे मिलन दुवै यतिबेला चर्चामा छन्। यतिबेला उनीहरू गुन्डागर्दी वा कुनै आपराधिक कार्य गरेर चर्चामा आएका भने होइनन्। एकले अर्कालाई सिध्याउने गरी ‘ग्याङ फाइट’ गर्दा ६० को दशकमा लागेको मुद्दामा अहिले सर्वोच्च अदालतले मनाङेलाई सजाय तोकेपछि उनीहरू चर्चामा आएका हुन्।

राजनीतिमा लाग्दै गर्दा मनाङेले आफूलाई ‘गुन्डा मनाङे होइन, मन्त्री मनाङे’ भन्थे। गुन्डागर्दीमा सक्रिय हुँदाताका कुनै न पार्टीमा आबद्ध रहेका उनी २०७४ सालयता भने गण्डकी प्रदेश सरकार निर्माण र भत्काउने खेलमा मुख्य पात्रजस्तै देखिए। नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी (नेकपा एस) तीनवटै पार्टीबाट उनी मन्त्री भए।

यसरी मनाङेलाई राजनीतिक दलले काखी च्यापेर मन्त्री बनाएकोमा धेरैले मन पराएनन्। तीन महिना अघिसम्म पनि गण्डकी प्रदेशसभामा मनाङे सत्ता जोगाउने र भत्काउने महत्त्वपूर्ण पात्रका रूपमा देखा परेका थिए। त्यही क्रममा उनले आफूले सम्हालिरहेको मन्त्रालय ‘लिलामीमा’ राखेको भनेर चर्चा कमाए।

गत मंगलबार सर्वाेच्च अदालतले सुनाएको पैmसलापछि मनाङे भूमिगत भएका छन्। फैसलापछि सांसद पद मात्रै गुम्ने भएन, २० वर्षअघिको अपराधको सजाय भुक्तानका लागि उनी जेल पनि जानुपर्ने भएको छ। यतिबेला नजिकका केही व्यक्तिबाहेक अन्यलाई उनी कहाँ छन् भन्ने जानकारी छैन। तर उनले शुक्रबार विज्ञप्ति जारी गर्दै फैसलाको पूर्णपाठ आएपछि आफंै अदालतमा उपस्थित हुने जानकारी गराएका छन्।

सर्वोच्च अदालतको फैसलाले सांसद पद गुमे पनि उनले विज्ञप्ति जारी गर्दा गण्डकी प्रदेशसभा सदस्यको लेटरप्याड प्रयोग गरेका छन्। ‘विगत केही दिनयता विभिन्न अखबार र सामाजिक सञ्जालमा मेरो विषयमा लेखिएका समाचार र टीकाटिप्पणीप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ मनाङेले लेखेका छन्, ‘सम्मानित सर्वोच्च अदालतमा विचाराधीन मेरो मुद्दामा कात्तिक २० गते फैसला भएको विषय मैले मेरा तर्फबाट बहसपैरवी गरिरहेका कानुन व्यवसायीमार्फत थाहा पाएको हुँ। सोपश्चात् मेरा कानुन व्यवसायीलाई फैसलाको नक्कल सार्न पठाएँ तर अदालतबाट फैसलाको संक्षिप्त पाठ तयार नभएको भन्ने जानकारी आयो।’

फैसला आएको दिनदेखि ‘गुणस्तरहीन’ सञ्चारमाध्यमबाट तारन्तार आइरहेका कलहरूले गर्दा केही समयका लागि आफूले प्रयोग गर्दै आएको मोबाइल बन्द गरेको जानकारी पनि मनाङेले गराएका छन्। ‘यही विषयलाई लिएर विभिन्न सञ्चारमाध्यममा भ्रामक समाचार सम्प्रेषण भइरहेको पाएको छु। यसमा मेरो आपत्ति छ,’ उनले विज्ञप्तिमा लेखेका छन्।

सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले मनाङेविरुद्ध ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा तत्कालीन पुनरावेदन (हाल उच्च) अदालत पाटनबाट भएको फैसला सदर गरेसँगै उनी भूमिगत भएका हुन्। प्रहरीले खोजी गरिरहेको थाहा पाएपछि भूमिगत भएका उनले आफू बसेको स्थानबारे जानकारी नगराईकन विज्ञप्ति जारी गरेका हुन्।

मनाङेले समकालीन अर्का गुन्डा नाइके चक्रे मिलनको हात छिनाल्ने गरी तरबार हानेको मुद्दा काठमाडौं जिल्ला अदालत हुँदै तत्कालीन पुनरावेदन अदालत पाटनमा पुगेको थियो। ज्यान मार्ने उद्योगको उक्त मुद्दामा २०६९ सालमा तत्कालीन पुनरावेदन अदालत पाटनले मनाङेसहितको समूहलाई दोषी ठहर गरेको थियो।

मनाङेकै समूहमा रहेर गुन्डागर्दीमा संलग्न काभ्रेका गणेश लामा, रेवत कार्की, रमेश सुनुवार र उमेश लामालाई पनि अदालतले दोषी ठहर गरेको थियो। लामा अहिले नेपाली कांग्रेसको राजनीतिमा छन्। मनाङेबाहेक अरू तत्कालीन पुनरावेदन अदालत पाटनको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुगेका थिए। उनीहरूलाई सर्वोच्च अदालतका तत्कालीन न्यायाधीशद्वय दिपकराज जोशी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले २०७४ माघ २ गते सफाइ दिएको थियो। सफाइ पाएपछि कांग्रेस केन्द्रीय सदस्य भएका गणेश लामाले काभ्रेबाट चुनावसमेत लडेका थिए।

मनाङेको हकमा जिल्ला अदालत काठमाडौंले ज्यान मार्ने उद्योगको मुद्दा नभई कुटपिट घटना ठहर गर्दै दुई वर्ष कैद सजाय तोकेको थियो। जिल्ला अदालतबाट भएको फैसलाअनुसार उनले दुई वर्ष जेल जीवन भोगिसकेका छन्। २०६१ चैतमा पक्राउ परेका मनाङे २०६३ माघमा जेलमुक्त भएका थिए।

जिल्ला अदालतको फैसलाबाट मनाङेलाई सजाय कम भएको भन्दै सरकारले तत्कालीन पुनरावेदन अदालत पाटनमा पुनरावेदन निवेदन दिएको थियो। त्यसपछि तत्कालीन पुनरावेदन अदालत पाटनले २०६९ साउन २८ मा जिल्लाको फैसलामा केही उल्टी गर्दै मनाङेलाई पाँच वर्ष जेल सजाय हुने ठहर गरेको थियो।

मनाङेविरुद्धको सोही फैसलालाई अहिले सर्वोच्च अदालतले सदर गरेको हो। पुनरावेदन अदालतबाट भएको फैसलाको ६ वर्षपछि मनाङेले सर्वोच्चमा पुनरावेदन निवेदन दिएका थिए।

२०६० सालको अन्तिमतिर चक्रे र मनाङे समूहबीच काठमाडौं दरबारमार्गको जय नेपाल हल नजिक ग्याङ फाइट भएको थियो। २०६१ को वैशाख ३१ मा पनि चक्रे समूहले मनाङे समूहमाथि आक्रमण गरी मनाङेको आधार क्षेत्र भनिएको ठमेलमा प्रवेश गर्ने प्रयास गरेको थियो। त्यसलाई ‘इगो’ को रूपमा लिएका मनाङेले गणेश लामा, कुमार घैंटे समूहलाई पक्षमा ल्याएर चक्रे समूहमाथि आक्रमण गरे।

२०६१ साउन १० गते चक्रे पानीपोखरीस्थित चुफाङ रेष्टुरेन्टमा बसेका बेला मनाङे समूहले त्यहाँ पुगेर आक्रमण गर्‍यो। त्यसकै परिणाम अहिले मनाङेलाई सर्वोच्च अदालतले सजाय सुनाएको हो।

काठमाडौं उपत्यकामा २०६० को दशकमा गुन्डा नाइकेहरू मनाङे र चक्रेको चर्चा हुन्थ्यो। आपराधिक समूह निर्माण गरी व्यवसायीलाई धम्क्याएर रकम असुल गर्नेदेखि रात्रीकालीन व्यवसायीबाट हप्ता असुलीको धन्दामा उनीहरू संलग्न थिए। दुवैको आआफ्नै आधार क्षेत्र थिए। दुवैले देशव्यापी नेटवर्कसमेत विस्तार गरेका थिए।

अहिले पनि यो नेटवर्क कायमै छ। मनाङेको ठमेल, दरबार मार्ग, चक्रेको चक्रपथ बाँसबारी, मैतीदेवी, बसपार्क आधार क्षेत्र थिए। निर्माण व्यवसायी र म्यानपावर व्यवसायमा उनीहरूको दबदबा थियो। आधार क्षेत्र विस्तारकै क्रममा उनीहरू हप्ता–हप्तामै भिडन्त हुन्थ्यो। त्यसक्रममा चुफाङ रेष्टुरेन्टमा मनाङे समूहको प्रहारबाट चक्रेको हात काटिएको थियो। छिन्न बाँकी रहेको हात त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा जोडिएको थियो। हाल चक्रेको उक्त हात राम्रोसँग चल्दैन। चक्रे आफैं आपराधिक समूहका नाइके भएका कारण उनले मनाङेविरुद्ध प्रहरीमा जाहेरी गरेनन्। तर उनकी पत्नी इन्दिरा गुरुङले २०६१ साउन ११ गते तत्कालीन जिल्ला प्रहरी कार्यालय हनुमानढोकामा मनाङेविरुद्ध जाहेरी दिइन्।

मनाङेलाई पक्राउ गर्न तत्कालीन प्रहरी महानीरीक्षक सर्वेन्द्र खनालले डिएसपी नरेन्द्र उप्रेतीलाई खटाएका थिए। खनालले नै मनाङेलाई अदालतसम्म पुर्‍याएका हुन्। त्यतिबेला प्रहरीले मनाङे समूहका पंकज सारु, राजु श्रेष्ठ, सञ्जीव डंगोल, साजन गुरुङ, रवि बस्नेत र मंगल श्रेष्ठलाई समेत प्रतिवादी बनाएर अदालतमा पेस गरेको थियो।

प्रहरीले २०६१ चैत १८ मा मनाङेसहितलाई पक्राउ गरेको थियो। त्यसपछि हत्या प्रयासको अभियोगमा मनाङेसहित पाँच जनालाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरियो। अदालतको आदेशमा मनाङे २०६२ वैशाख १३ मा पुर्पक्ष थुनाअन्तर्गत कारागार चलान भए। अदालतले हात छिनेको घटनालाई हत्या प्रयास भने स्वीकार नगरी कुटपिट ठहर गर्दै दुई वर्ष कैद सजाय तोक्यो। तोकिएको कैद सजाय कटाएर उनी २०६३ माघ २८ गते कारागार मुक्त भए।

२०७४ सालमा पनि एक पटक मनाङे पक्राउ परेका थिए। त्यतिबेला प्रहरीले उनलाई ‘इन्काउण्टर’ गर्न खोजेको थियो। तर उनी बाँचे। त्यही बेला गुन्डा नाइके घैंटे र दिनेश अधिकारी ‘चरी’ प्रहरी इन्काउन्टरमा मारिए। घैंटे र चरी मारिएपछि चक्रे र मनाङे दुवै फरारजस्तै भएका थिए। चक्रे युवा संघतिर लागेका थिए। उनी सुरुबाटै एमाले निकट थिए। यसअघि उनी गोरखाबाट चुनाव लड्ने तयारीमा थिए। तर एमालेले पत्याएन। मनाङे भने कुनै पनि पार्टीमा आबद्ध नभई स्वतन्त्र रूपमा २०७४ र २०७९ सालको निर्वाचनमा गण्डकी प्रदेशसभा सदस्यमा मनाङबाट निर्वाचित भए। २०७४ सालमा मनाङेले एमालेको समर्थनमा प्रदेशसभा सदस्य जितेका थिए। उनी गण्डकी प्रदेश सरकारमा सात पटक मन्त्री भइसकेका छन्। ६ पल्ट मन्त्रालय सम्हालेका उनले पछिल्लो पटक वन मन्त्रालय पाए  पनि सम्हालेनन्।

प्रकाशित: २४ कार्तिक २०८१ ०५:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App