राजनीति

जिल्ला अधिवेशनका लागि छानिए प्रतिनिधि

इलामस्थित एमाले पार्टी कार्यालय।

नेकपा (एमाले) ले जिल्ला अधिवेशनका लागि पाँच सय ८३ प्रतिनिधि छानेको छ। कात्तिक २९ र ३० मा हुने ११औं जिल्ला अधिवेशनका प्रतिनिधि छानिएका हुन्।

जिल्लाका सबै ८१ वटै वडा, २१ जनसंगठन तथा पेसागत संगठन, तीन इलाका, शाखा र एउटा विशेष वडा कमिटीबाट प्रतिनिधि छानिएको एमाले जिल्ला सचिव उमेश गुरुङले जानकारी दिए। धेरैजसो वडा र कमिटीहरूमा सर्वसम्मत रूपमा प्रतिनिधि छानिए पनि कतिपयमा निर्वाचन प्रक्रियाबाटै छानिएका छन्।

अरू जिल्लामा यसअघि नै एमालेको जिल्ला अधिवेशन भइसकेपनि गत वैशाख १५ मा इलाम क्षेत्र २ मा उपनिर्वाचन भएकाले जिल्ला अधिवेशन स्थगित थियो। आउँदो अधिवेशनले जिल्ला अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिव निर्वाचित गर्नेछ। सचिव गुरुङका अनुसार एक सय २५ सदस्यीय जिल्ला कमिटी गठन हुनेछ।

जिल्ला नेतृत्वमा केही नेताहरूको नाम आइरहे पनि सर्वसम्मत बनाउन प्रयास भइरहेको एमालेले जनाएको छ। ‘जिल्ला कमिटीमा यो पटक १० युवालाई समेत प्रतिशत कोटा दिइनेछ,’ सचिव गुरुङले भने, ‘पदाधिकारी र सदस्यमा आकांक्षी धेरै जना हुनुहुन्छ, सर्वसम्मतिकै प्रयास हुनेछ।’

प्रकाशित: २२ कार्तिक २०८१ १३:५५ बिहीबार