राजनीति

भ्रष्ट्राचार नियन्त्रणमा ध्यान दिन सांसदहरूको जोड

.

सांसदहरूले सरकारले भ्रष्टाचार नियन्त्रणमा ध्यान दिनुपर्ने बताएका छन्।

सोमबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसदहरुदले सरकारले भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गराउन नसकेको बताएका हुन्।

उनीहरुले सरकारले भ्रष्टाचारीको संरक्षण गरेको आरोप पनि लगाए। त्यस्तै सरकार एकलौटी ढंगले चलेको पनि उनीहरूको भनाइ थियो। बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले सरकारले भ्रष्टाचारका फाइलहरू अगाडी नबढाएको बताए।

उनले सरकारले प्रतिपक्षहरूलाई फरक नजरले हेर्ने गरेको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराए।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद बुद्धिमान तामाङले सरकार एकपक्षीय ढङ्गले अगाडी बढिरहेको धारणा राखे। उनले कसैलाई कारबाही गर्ने र कसैलाई कारबाही नगर्ने गरेको भन्दै यसमा जनताको आपत्ति रहेको बताए।

जनता समाजवादी पार्टी, नेपालका सांसद प्रकाश अधिकारीले सुशासन कायम गर्न भ्रष्टाचार निरुत्साहित गराउने गरी ऐन बनाउनुपर्ने धारणा राखे। उनले भ्रष्टाचार शून्य हुने गरी ऐन नबनाएसम्म देशको विकास नहुने बताए।

बैठकमा बोल्दै जनता समाजवादी पार्टीका अध्यक्ष तथा सांसद अशोक राईले देशमा भ्रष्टाचारको दायरा बढेको भन्दै सुशासन कमजोर भएको बताए।

उनले स्थानीय तहमा झन् भ्रष्टाचार बढेको धारणा राखे। उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यक्षेत्र बढाउने भन्दा पनि जनशक्ति र कार्यक्षमता बढाउनुपर्नेमा जोड दिए।

नेपाली कांग्रेसका सांसद हृदयराम थानीले गिरिबन्धु, क्यान्टन्मेन्ट, ललिता निवास, बाइडबडी, यति र ओम्नी काण्डको छानबिन कहाँ पुग्यो भनेर सरकारलाई प्रश्न गरे। उनले सबै भ्रष्टाचार काण्डहरूको छानबिन गर्नुपर्ने बताए।

नेकपा माओवादी (केन्द्र) की सांसद दुर्गा राईले एमाले पार्टी कार्यालय भवन बनाउनका लागि दानको रुपमा जग्गा लिइएको भन्दै त्यो भ्रष्टाचार हो कि होइन भनेर प्रश्न गरिन। नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले भ्रष्टाचार नियन्त्रण गर्न नसकिएको भन्दै राज्य संयन्त्र असफल भएको हो भनी प्रश्न गरे।

सांसदहरूले भ्रष्टाचार नियन्त्रणका लागि सरकारले ध्यान दिनुपर्नेमा जोड दिएका छन्।

प्रकाशित: १२ कार्तिक २०८१ १९:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App