राजनीति

ओली सरकारका सय दिन: एक दर्जन आयोग/समिति गठन

-गृहमन्त्री रमेश लेखकले पदभार ग्रहण गरेपछि पहिलो निर्णय गर्दै गत असार ३१ गते सिमलताल दुर्घटनाका विषयमा छानबिन गर्न मन्त्रालयका सहसचिव छवि रिजालको संयोजकत्वमा एउटा अध्ययन समिति गठन गरे।

उक्त समितिमा तत्कालीन सडक डिभिजन चितवनका प्रमुख रमेश पौडेलसहित विभिन्न सरोकार निकायका प्रतिनिधिलाई राखिएको थियो। समितिलाई १० दिनको समय दिइएको थियो। तोकिएको समयमा समितिले प्रतिवेदन बुझायो। सडक दुर्घटना न्यून गर्न समितिले सरकारलाई विभिन्न बुँदामा सुझाव दिएको थियो। ती सुझाव कार्यान्वयन भएनन्।

गृह मन्त्रालयले छानबिन समिति गठन गर्नु एक दिनअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सोही विषयमा तत्कालीन सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंका प्रमुख ज्ञानेन्द्र झाको संयोजकत्वमा अर्को छानबिन समिति गठन गरेको थियो। उक्त समितिले पनि प्रतिवेदन बुझाइसकेको छ। उक्त समितिमा रमेश पौडेल र प्रकाश चन्द्र भण्डारी सदस्य थिए।

गत असार २८ गते वीरगञ्जबाट काठमाडौं जाँदै गरेका ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जान लागेको ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स गाडी बिहान साढे ३ बजेतिर नारायणघाट–मुगलिङ सडक खण्ड खण्डको सिमलताल पहिरोमा फसी त्रिशूली नदीमा बगे। सरकारले हराएको बसको खोजी लामो समयसम्म ग¥यो, तर सफलता पाउन सकेन। त्यस घटनामा परी ६२ जना नागरिकको निधन भएको थियो।

- उपत्यकाका नदी किनारामा तोकिएको मापदण्डभन्दा थप २० मिटर क्षेत्रमा संरचना नबनाउन भनी २०८० पुस ३ गते सर्वोच्च अदालतले गरेको फैसला कसरी कार्यान्वय गर्ने र कार्यान्वयन गर्दा उत्पन्न हुने हुने जटिलताका विषयमा अध्ययन गर्न आठ दिनभित्र प्रतिवेदन बुझाउने गरी सरकारले गत भदौ १७ गते सहरी विकास मन्त्रालयका वरिष्ठ सहसचिव पद्म मैनालीको संयोजकत्वमा एउटा उच्चस्तरीय समिति गठन गठन ग¥यो। उक्त समितिमा बागमती विकास समिति काठमाडौं र ललितपुर महानगरपालिकाका प्रतिनिधि सहभागी थिए। समितिले प्रतिवेदन बुझाइसकेको छ। प्रतिवेदन गोप्य राखिएको छ।

- नेपालको हवाई क्षेत्र असुरक्षित हुँदै गएपछि सुरक्षित, भरपर्दो र विश्वसनीय बनाउन गत कात्तिक ५ गते मन्त्रिपरिषद्ले सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हाको संयोजकत्वमा पाँच सदस्यीय उच्चस्तरीय अध्ययन तथा सुझाव समिति गठन गरेको छ।

समितिको सदस्यमा हवाई व्यवस्थापनविज्ञ राजेन्द्रबहादुर सिंह, हवाई सुरक्षाविज्ञ भेषराज सुवेदी, हवाई सेवा सञ्चालन तथा गुणस्तर व्यवस्थापनविज्ञ क्याप्टेन रिवाजप्रसाद प्रधान र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव छन्। उक्त समितिले नेपालको नागरिक उड्डयन क्षेत्रको समग्र अध्ययन गरी सरकारलाई प्रतिवेदन बुझाउने भएको छ।

-गत साउन ९ गते काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलायन्सको नाइनएन एएमई विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलनजिकै भएको दुर्घटनाबारेमा अध्ययन तथा छानबिन गर्न सरकारले गत साउन ९ गते पाँच सदस्यीय दुर्घटना आयोग गठन गरेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमनको संयोजकत्वमा गठन भएको उक्त समितिमा नेपाल वायु सेवा निगमका क्याप्टेन दीपुराज ज्वारचन, डा. सुदीप भट्टराई, सञ्जय अधिकारी, मुकेश डंगोल सदस्य रहेका छन्। उक्त दुर्घटनामा १८ जना नागरिकको निधन भएको छ।

-असोज ११ र १२ गते देशभरि आएको भारी वर्षाका कारण बाढीपहिरोमा परी दुई सयभन्दा बढी नागरिकको मृत्य भयो। यस विषयमा विस्तृत अध्ययन गरी प्रतिवेदन बुझाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव अर्जुन बमको संयोजकत्वमा एउटा अध्ययन समिति गठन गर्ने निर्णय सरकारले गरेको छ। उक्त समितिमा भौतिक पूर्वाधार मन्त्रालयका उपसचिव रमेश पौडेललगायत विभिन्न क्षेत्रका प्रतिनिधि सहभागी रहेका छन्। उक्त समितिले अझै प्रतिवेदन बुझाएको छैन।

-गत साउनको दोस्रो साता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रालयका सहसचिव वीष्णु ज्ञवालीको संयोजकत्वमा कर्मचारीको सरुवालाई व्यवस्थित र वैज्ञानिक बनाउने विषयमा अध्ययन गर्न एउटा समिति गठन गर्ने निर्णय गरेको थियो। उक्त समितिले मन्त्रालयका सचिव भरतमणि सुवेदीलाई प्रतिवेदन बुझाइसकेको मन्त्रालयका प्रवक्ता कालिप्रसाद रिजालले जानकारी गराए। गत साउन ७ गत बसेको सचिवस्तरीय बैठकपछि उक्त निर्णय गरिएको थियो।

कुनै घटना हुनेबित्तिकै आयोग, अध्ययन समिति, छानबिन समिति गठन गरेर परिस्थितिलाई सहज बनाउनु सरकारको परम्पराजस्तै हो। यो परम्परलाई वर्तमान केपी शर्मा ओली नेतृत्व सरकारले पनि निरन्तरता दिएको देखिन्छ।

कहाँसम्म भने सिमलताल पहिरोका विषयमा एउटै घटनामा दुईवटा समिति गठन भए। दुईवटै समितिले प्रतिवेदन बुझाए तर कार्यान्वयन भएनन्। ओली सरकारको सय दिनमा झन्डै एक दर्जन आयोग, समिति तथा अध्ययन समिति गठन भएका छन्। केही समितिले प्रतिवेदनसमेत बुझाइसकेका छन्। धेरैजसो प्रतिवेदन गोप्य राखिएका छन्।

प्रकाशित: ८ कार्तिक २०८१ ०९:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App