राजनीति

कांग्रेस सभापति देउवाद्वारा दसैँको शुभ–कामना

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले बडा दसैँको शुभकामना दिएका छन्।

बुधवार शुभकामना सन्देश जारी गर्दै उनले बाढी पहिरोको प्रकोपले मुलुक नै आक्रान्त भएको भन्दै हजारौं नागरिक घरबारबिहीन हुन पुगेको र त्यसले मुलुकका अरबौंका राष्ट्रिय पूर्वाधार नष्ट भएको बताए।

दसैँमा मान्यजनबाट आशिष लिन र आफन्तसँग भेटघाट गर्नका लागि गाउँ–घर फर्कन कठीन अवस्था सिर्जना भएको भन्दै उनले सन्देशमा भनेका छन्, हजारौं नागरिकका करोडौंका जग्गाजमीन र भित्र्याउने बेला भएका अन्नबाली सखाप भएका छन्। यो विपत्तिका समयमा दुर्गा भवानीले हामी सबैलाई आत्मबल र दृढ शक्ति प्रदान गरून् भन्ने कामना गर्दछु।

उनले भनेका छन्, नेपाल बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक र बहुभाषिक राष्ट्र हो। हामीमा निहित बन्धुत्व भावले यी विविधता बीचमा पनि अनुपम एकता कायम गरेको छ। विविधता बीचको एकता नेपालीको विशेषता र पहिचान पनि हो। हरेक बडा दशैंले समुदाय, संस्था, परिवार र व्यक्ति—ब्यक्ति बीचको एकतालाई अझ सुदृढ बनाउंदै आएको छ।

अन्यायमाथि न्यायको तथा असत्यमाथि सत्यको विजयको शाश्वत सन्देश दिने यो पर्वलाई नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, सामाजिक सद्भाव, आपसी सहयोग र पारस्परिक एकताको रुपमा मनाउँदै आएको उनले उल्लेख गरेका छन्। सदा झैं यसपटकको बडा दसैँंले समुदाय, संस्थाहरू, परिवार र व्यक्ति-व्यक्ति बीचको एकतालाई अझ मजबूत बनाउंन हामीलाई प्रेरित गर्न सकोस् भन्ने उनले कामना गरेका छन्।

प्रकाशित: २३ आश्विन २०८१ १९:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App