राजनीति

खोज तथा उद्धार, राहत, उपचार र सडक सुचारुको काम तीव्र छ: गृहमन्त्री

गृहमन्त्री रमेश लेखकले असोज ११ र १२ गतेको प्राकृतिक विपत्तिपछि सरकारले तत्कालै खोज, उद्धार, राहत, उपचार, र सडक सुचारु गर्ने कार्यलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन्।

मंगलबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले सरकारका तर्फबाट विपद् प्रभावित क्षेत्रहरुमा तत्काल उद्धारको पहल भएको जानकारी दिए। उनले घाइतेहरूको उपचार, अवरुद्ध सडक मर्मत, र पीडित जनतालाई राहत वितरणको कार्य तीव्र भइरहेको बताए।

लेखकका अनुसार, विपद्पछि विभिन्न सडकमा फसेका यात्रुहरुलाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ भने बिरामीहरुलाई सरकारी अस्पतालमा निःशुल्क उपचार उपलब्ध गराइएको छ।

साथै, सबै अवरुद्ध भएका सडकहरुमा मर्मत कार्य जारी रहेको उनले उल्लेख गरे। गृहमन्त्रीले ललितपुरको नख्खु क्षेत्रमा बाढीमा परेका नागरिकहरुलाई समयमै उद्धार गर्न नसकिएकोमा खेद प्रकट गरे।

प्रतिकुल मौसमका कारण उद्धारमा चुनौती आएको र तीन जनालाई उद्धार गरिए पनि दुई जना अझै बेपत्ता रहेको जानकारी उनले दिए।

सांसदहरुको आलोचनामा प्रतिक्रिया दिँदै गृहमन्त्री लेखकले भने, “नख्खुमा सरकार पुगेको थियो, तर प्रतिकुल मौसमका कारण उद्धार सम्भव भएन। हामीले प्रयास गरेका हौँ, तर त्यहाँको अवस्था अत्यन्तै कठिन थियो।” उनले मृतकका परिवारलाई राहत स्वरूप दुई लाख रुपैयाँ प्रदान गर्ने कार्य आजै सम्पन्न गरिने बताए।

गृहमन्त्री लेखकका अनुसार हालसम्म विपद्‌मा परी २१८ जनाको मृत्यु भएको छ, १४३ जना घाइते भएका छन्, र २७ जना बेपत्ता रहेका छन्। नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, र स्वयंसेवकहरुको समन्वयमा ४ हजार २२२ जनाको सुरक्षित उद्धार गरिएको जानकारी पनि उनले दिए।

सरकारले विपद् पीडितहरुलाई तुरुन्त राहत उपलब्ध गराउन र आवश्यक परे थप आर्थिक सहयोग सुनिश्चित गर्ने प्रतिवद्धता व्यक्त गरेको छ।

प्रकाशित: १५ आश्विन २०८१ १५:२९ मंगलबार