राजनीति

मेयरविरुद्ध वडाध्यक्ष अनशनमा

सर्लाहीको बलरा नगरपालिका कार्यालयको मूलगेटमा तालाबन्दी पश्चात रिले अनशनमा बसेका वडा अध्यक्षसहितका स्थानीय। तस्बिर : टंक क्षेत्री/नागरिक

सर्लाही – मेयरले मनोमानी ढंगले काम गरेको भन्दै त्यसको विरोधमा बलरा नगरपालिकाका वडाध्यक्षसहित स्थानीय सोमबारदेखि रिले अनशनमा बसेका छन्।

मेयर अभय सिंहले आफ्नै भाइको अध्यक्षतामा उपभोक्ता समिति गठन गरेको तथा विकास निर्माण एवं नगरपालिकाबाट हुने कामकारबाहीमा आफूहरूसँग कुनै सल्लाह नै नगरी मनोमानी ढंगले अगाडि बढेको भन्दै ५ जना वडा अध्यक्ष सहित स्थानीयले कार्यालयमा तालाबन्दीसहितगत सोमबारबाट रिले अनसन सुरु गरेका हुन्।

वडा नं. १ अन्तर्गत भारतीय सीमास्थित छन्की टोलादेखि उत्तर छतौनाको हुलाकी राजमार्गसम्म जोडिने सडकमा माटो भर्ने योजना सम्पन्न गर्न मेयर सिंहका कान्छा भाइ पंकजकुमार सिंहको अध्यक्षतामा रातारात उपभोक्ता समिति गठन गरी नगरपालिकाले सम्झौता गरेको वडा नं. १ का वडा अध्यक्ष सन्तोषकुमार सिंहले बताए। ‘८० लाख रुपैयाँको उक्त योजना सम्पन्न गर्ने उपभोक्ता समिति गठन कहिले र कसरी भयो मलाई थाहै छैन,’ वडाअध्यक्ष सिंहले भने, ‘मेयर साहेबको अध्यक्षता रहेको भेलाले उनकै भाइ अध्यक्ष रहेको उपभोक्ता समिति गठन गरेको कुरा काम सूरु भएपछि मात्र थाहा भयो।’ कर्मैया–हथियौल सडकखण्ड अन्तर्गत पर्ने उक्त सडक कालोपत्रेका लागि केन्द्रीय योजना अन्तर्गत परिसकेको भएपनि अनियमितता गर्ने मनसायका साथ नगरपालिकाको ८० लाख रुपैंया बजेटमा काम सूरु भएको उनले दाबी गरे।

अनियमित ढंगले गठन भएको उपभोक्ता समिति बदर गर्नुपर्ने, आर्थिक सहयोग वितरणमा भएको अनियमितता पारदर्शी गर्नुपर्ने, सामाजिक सुरक्षा भत्ता बैंकद्वारा भुक्तानी तथा पारदर्शी गर्नुपर्ने लगायत विभिन्न माग सहित अनसन सुरु गरिएको सहभागी कौशलकिशोर सिंहले बताए। चैत २५ गतेसम्म माग पूरा नभए आमरण अनसन सुरु गरिने बताएका छन्। यता नगरपालिकाका मेयर अभय सिंह भने आफूले पारदर्शी ढंगले काम गरिरहेको दाबी गरेका छन्।

प्रकाशित: २२ चैत्र २०७४ ०१:२१ बिहीबार

मेयरविरुद्ध वडाध्यक्ष अनशनमा