राजनीति

माओवादी कमजोर हुँदा संविधानमाथि हमला हुन्छ, पार्टीलाई सुदृढ बनाउनुको विकल्प छैन: प्रचण्ड

माओवादी केन्द्र प्रवास प्रदेशको बैठक सुरु

नेकपा (माओवादी केन्द्र) प्रवास प्रदेश समितिको परामर्श बैठक आजदेखि सुरु भएको छ।

केन्द्रीय कार्यालय पेरिसडाँडामा केन्द्रीय पदाधिकारी र विभिन्न देशमा रहेका प्रवासका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीबीच श्रव्य दृश्यका माध्यमबाट बैठक सुरु भएको हो।

दुई दिनसम्म चल्ने बैठकमा पार्टीका केन्द्रीय पदाधिकारीका साथै प्रवास प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको सहभागिता रहेको छ। बैठक सुरुवात गर्दै अध्यक्ष पुष्पकमल दाहालले पार्टीलाई सुदृढ र एकताबद्ध बनाउनुको विकल्प नभएको सुनाए। उनले रूपान्तरण सम्भव भएको र यसको विकल्प नभएको जिकिर गरे।

“माओवादी कमजोर हुँदा परिवर्तनका मुद्दा उल्टिन्छन्, संविधानमाथि हमला हुन्छ,” उनले भने, “परिवर्तनलाई जोगाउन पनि हामी सुदृढ एकतासहित अघि बढ्नुको विकल्प छैन।”

अध्यक्ष दाहालले अब सम्पूर्ण रूपमा पार्टी पुनर्गठन र जनपरिचालनका कार्यक्रमसहित अघि बढ्ने जानकारी दिए।

बैठकमा सहभागीका धारणा सुनेपछि अन्तिममा केन्द्रीय पदाधिकारीले सम्बोधन गर्ने कार्यक्रम छ। पार्टी केन्द्रीय समिति बैठकको तयारी स्वरुप माओवादी केन्द्रले विभिन्न प्रदेशमा परामर्श बैठक आयोजना गर्दै आएको छ।

माओवादी केन्द्रले बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश, गण्डकी, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेश, कोशी प्रदेश, मधेश प्रदेश तथा केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको परामर्श बैठक सम्पन्न गरिसकेको छ।

अब केन्द्रीय सल्लाकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको बैठक सकेर केन्द्रीय समिति बैठकको तयारीमा लाग्ने माओवादी केन्द्रले जनाएको छ। केन्द्रीय समितिको बैठकबाट सङ्गठन सुदृढीकरण र जनपरिचालनका कार्यक्रम ल्याउने माओवादी केन्द्रको तयारी छ।

प्रकाशित: १ आश्विन २०८१ २०:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App