राजनीति

संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न संविधान संशोधन: गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न संविधान संशोधन गर्नु आवश्यक रहेको बताएका छन्।

मंगलबार गृह जिल्ला कञ्चनपुर जाने क्रममा धनगढी विमानस्थलमा नेपाल प्रेस युनियन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संविधानका आधारभूत मूल तत्वहरुमा कुनै पनि परिवर्तन नगर्ने गरी संविधान संशोधन हुने बताएका हुन्।

संविधान संशोधन विभिन्न चरणहरु पार गर्दै गरिने बताउँदै उनले भने, ‘पहिलो चरणमा संविधानको विषयमा व्यापक समीक्षा हुन्छ, समस्याहरुको पहिचान हुन्छ र पहिचान भएको समस्याको सम्पूर्ण राजनीतिक दलहरुबीच सहमतिका आधारमा संविधान संशोधन हुन्छ।’

२०७२ को संविधान निर्माणका क्रममा नेपाली कांग्रेसले सम्पूर्ण राजनीतिक दलको सहमतिमा जसरी संविधान निर्माण गरेको थियो त्यसरी नै संविधान संशोधनका क्रममा पनि सर्वदलीय सहमतिकै आधारमा संशोधन हुने मन्त्री लेखकले बताए।

पत्रकार सम्मेलनमा बोल्दै मन्त्री लेखकले देशमा राजनीतिक अस्थिरता हटाउन एमाले र कांग्रेसको गठबन्धन भएको पनि बताए।

उनले भने,‘यो गठबन्धनको सरकार भनेको परिपक्व हो र गठबन्धन २०८४ सम्मै रहने छ।’ दुई ठूला दल कांग्रेस र एमालेबीचको गठबन्धनको सरकार बने लगत्तै अर्थतन्त्रमा सुधार भएको पनि उनले दावी गरे। ‘देशमा शिथिल अवस्थामा रहेको अर्थतन्त्र गठबन्धनको सरकारपछि चलायमान भएको छ,’ उनले भने,‘सरकार बन्ने र भत्किने क्रम अब बन्द भएको छ। जसले गर्दा देश आर्थिक समृद्धिको मार्गतर्फ उन्मुख भएको छ।’

गठबन्धनको सरकारले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक पारित गर्न सफल भएको पनि उनले बताए। तीन वर्षभित्रै आयोग गठन गरी काम सम्पन्न गर्ने लक्ष्य सरकारको रहेका उनले बताए।

सहकारीका विषयमा बोल्दै गृहमन्त्री लेखकले कानुन बमोजिम प्रक्रिया अगाडि बढेको भन्दै सहकारी ठगीमा दोषीले उन्मुक्ति नपाउने पनि बताए। 

प्रकाशित: १८ भाद्र २०८१ १३:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App