राजनीति

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत पाएका छन्। ३६ जना प्रदेशसभा सदस्यले शाहलाई विश्वासको मत दिएका हुन। शाहले पाएको यो मत संख्या दुई तिहाइ बहुमत हो।

५३ सदस्यीय प्रदेश सभामा ४५ मत खसेकोमा विश्वासको पक्षमा ३६, विपक्षमा ८ र १ मत तटस्थ खसेको सभामुख भिमबहादुर भण्डारीले बताए।

प्रदेश सभाको बुधबार बसेको बैठकमा शाहले विश्वासको मत प्राप्त होस भनी प्रस्तुत गरेको प्रस्तावको पक्षमा नेपाली कांग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीका सांसदले मत दिएका थिए।

शाहले विश्वासको मत प्राप्त होस भनेर बैठकमा प्रस्ताव प्रस्तुत गरेका थिए। उनले सुदूरपश्चिममा गरिबी र बेरोजगारी समस्या गम्भीर रहेको उल्लेख गर्दै जनताको अपेक्षा र चाहाना बमोजिम अहिलेसम्म प्रदेश सरकारले काम गर्न नसकेको बताए।

जनताको चाहाना बमोजिम जनतालाई प्रदेश सरकारको उपस्थिति महसुस गराउने गरि काम गर्ने उनले प्रतिबद्धता जनाए।

गत साउन २० गते प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ को उपधारा २ बमोजिम नेपाल कांग्रेस संसदिय दलका नेता शाहलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।

५३ प्रदेश सभा सदस्यीय सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका १८, सभामुखसहित माओवादी केन्द्रका ११, एमालेका ११, नाउपाका ७, नेकपा (एकीकृत समाजवादी) का ४, राप्रपा एक र स्वतन्त्र एक जना सांसद छन्।

प्रकाशित: ३० श्रावण २०८१ १८:४२ बुधबार