उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रसेवकहरु सेवाग्राहीप्रति मैत्रीपूर्ण व्यवहार गर्न चुक्ने गरेको बताएका छन्।
ललितपुरमा बुधवार आयोजित सार्वजनिक वित्त व्यवस्थापन सम्बन्धी अधिकृतस्तरीय सेवाप्रवेश तालिम—२०८१ समापन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले यदाकदा सेवाग्राहीप्रति मैत्रीपूर्ण व्यवहार गर्न चुक्ने प्रवृत्ति देखिएको भन्दै सबैप्रति समान व्यवहार गर्न आग्रह गरे। पोशाकका आधारमा व्यवहार नगरी सेवाग्राहीका समस्याहरु बुझेर यथोचित ढंगले सम्बोधन गर्न उनले निर्देशन दिए।
उनले आफूलाई असल राष्ट्रसेवक प्रमाणित गर्नका लागि सेवाग्राहीमैत्री व्यवहार गर्नुपर्ने बताए। उनले सेवाग्राहीप्रति मैत्रीपूर्ण व्यवहार गर्ने र सहज ढंगबाट सेवा प्राप्त गर्ने अनुकुल परिस्थिति निर्माण गर्ने काममा ध्यान दिन आग्रह गरे। उनले हाकिमको आदेश भन्दा पनि कानूनसँग, राष्ट्रको हित, नागरिकको हितसँग बाझिएका बाहेकमा डराउनुपर्ने स्थिति नरहेको बताए।
प्रकाशित: ३० श्रावण २०८१ ११:३० बुधबार