राजनीति

'प्रदेश संरचना सरकार नभई विकासे अड्डा जस्ता भए'

बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले प्रदेश संरचना सरकार नभई विकासे अड्डा जस्ता भएको बताएका छन्।

मन्त्री भएपछि आइतबार पहिलो पटक गृह जिल्ला दोलखा आइपुगेका मन्त्री काफ्लेले नेपाली कांग्रेस दोलखा द्वारा सदरमुकाम चरिकोटमा आयोजित कार्यक्रममा प्रदेश सरकारको सेवा प्रवाहलाई सुधार गरी सरकारकै रुपमा चलाउने गरी वर्तमान प्रदेश सरकार सक्रिय रहेको बताए। 'संघीयताको मर्म अनुसार प्रदेश संरचना भनेको घर आँगनको सरकार हो' उनले भने, 'तर प्रदेशहरू विकास बाँड्ने अड्डा जस्ता मात्रै भए, अब यो सुधार आवश्यक छ।'

मन्त्री काफ्लेले मुलुकका सबै प्रदेशहरू सङ्घीयताको अभ्यासमै रहेकाले प्रभावकारी ढंगले काम गर्न प्रदेश सरकारहरु क्रियाशील हुनुपर्ने बताए। 'प्रदेश सरकारले डेलिभरी दिन सकेन भनेर आम गुनासो रहेका बेलामा मन्त्री बनेको छु' उनले भने, 'प्रदेशहरु प्रति नागरिकले गर्व गर्ने गरी काम गर्छौं।'  मन्त्री काफ्लेले दोलखाको विकासका लागि आफू सक्रिय रहिरहने प्रतिबद्धता जनाए।

दोलखा कांग्रेसका सभापति वर्मा लामाले २९ वर्षपछि दोलखा कांग्रेसले मन्त्री पाएकोले जनताको पक्षमा काम गर्न मन्त्री काफ्लेलाई आग्रह गरे। लामाका अनुसार दोलखामा २०५२ सालमा स्वर्गीय भीमबहादुर तामाङ मन्त्री बनेको २९ बर्ष पछि प्रदेश सरकारमा जिल्ला पार्टी बाट प्रतिनिधित्व भएको छ। 

प्रकाशित: २० श्रावण २०८१ १४:५४ आइतबार