संसदीय समितिले अभिलेख संरक्षण ऐन, २०४६ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल गरिएको छ ।
राष्ट्रिय सभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सोमवार सिंहदरबारमा बसेको बैठकले सो विधेयकमाथि छलफल सुरु गरेको हो । प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त सो विधेयकको वस्तुगत र कानुनी प्रावधानसँग पनि सम्बन्धित रहेर छलफल गरिएको समितिका सभापति मायाप्रसाद शर्माले जानकारी दिए ।
बैठकमा समितिका सदस्यहरूले अभिलेख संरक्षण ऐनलाई समयानुकूल बनाउन सरकारलाई सचेत गराएका थिए । समितिको अर्को बैठक असार २५ गते मंगलवार बिहान साँढे १० बजे बस्ने गरी बोलाइएको छ । बैठकमा पुस्तकालयको अनुगमनका सम्बन्धमा छलफल हुने समितिका सभापति शर्माले जानकारी दिए ।
प्रकाशित: २४ असार २०८१ १५:२६ सोमबार