राजनीति

‘गृहमन्त्रीज्यु क्यान्टनमेण्ट घोटालामा कसको नाम छ ?, रोष्टममा आएर बताउनुस्’

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञान बहादुर शाहीले क्यान्टनमेण्ट घोटालाको फाइल खोल्न उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई आग्रह गरेका छन्।

आइतबारको प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै प्रमुख सचेतक शाहीले गृहमन्त्री लामिछानेलाई क्यान्टनमेण्ट घोटालाको फाइल खोल्न आग्रह गरेका हुन्।

‘गृहमन्त्रीज्युलाई काम गर्ने कुरामा समर्थन छ, क्यान्टनमेण्ट घोटालामा कसको नाम छ रोष्टममा आएर बताउनुस् । हामी तपाईलाई समर्थन गर्छौं।’ उनले भनेका छन्।

अझै सरकारको ७ दिन बाँकी रहेको भन्दै उनले यो बिचमा भ्रष्टाचारको फाइलहरु खोलेमा आफूहरुको साथ र समर्थन रहने बताए। 

‘१२४ दिन भयो सरकारमा गएको आज के भयो ? अझै ७ दिन छ फाइल खोलौँ। झ्याम कि झ्याम यहीँबाट पक्राउ गरेर जेल हालौँ। हामी साथ र समर्थन गर्छौ। खोल्नुस् न फाइल कसले रोकेको छ ? किनभने आजपनि सरकार छ। जनतालाई कहिलेसम्म भ्रमित पार्ने हो ? 

फरक प्रस‌ंगमा उनले सुकुम्वासीहरुलाई खोला किनाराबाट हटाउन काठमाडौं महानगरपालिकाले पत्र पठाएर गृह मन्त्रीलाई पटक–पटक आग्रह गरेपनि प्रहरी नपठाएको आराेप लगाए।

‘काठमाडौं महानगरपालिकाले कतिपटक पत्र काट्यो होला हुकुमबासीलाई (सुकुम्वासीलाई) हटाऔँ भन्दाखेरी हाम्रो गृहमन्त्रीज्यू एउटा प्रहरी दिन पनि सक्नुहुन्न । अनि संसदमा आएर ठूलो कुरा ?’

प्रमुख सचेतक शाहीले संविधान संशोधन गर्नुपर्ने पनि बताए। जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुने व्यवस्थामा जानुपर्ने उनकाे भनाइ थियाे।

‘संविधान संशोधन गरौँ। संविधानलाई परिवर्तन गरौँ। संविधान गिता, कुरान, बाइबल होइन। देशको हितमा छ भने संशोधन गरेर अगाडी बढाऔँ। हितमा छैन भने बुँदाहरु कटौती गरौँ। हामीलाई जनताले यी पुराना ३३ वर्षदेखि देशलाई लुटे। यिनीहरुका विरुद्धमा सडक र सदनबाट खडा हुनुपर्छ भनेर जनताले दिएको जनमत हो। पद र प्रतिष्ठाको लागि हो जस्तो मलाई लाग्दैन।’ उनले भने।

प्रकाशित: २३ असार २०८१ १५:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App