राजनीति

टिकापुरको जग्गा ५० हजार रुपैयाँमा किनेको हुँः आरजु राणा

नेपाली कांग्रेसकी सांसद डा. आरजु राणाले टिकापुरको जग्गा आफूले ५० हजार रुपैयाँमा किनेको बताएकी छिन्।  

मंगलवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै सांसद राणाले टिकापुरको जग्गा आफूले २०५३ सालमा ५० हजार रुपैयाँमा किनेको बताएकी हुन्।

उनले आफूले ०५३ सालमा जग्गा किनेको भएपनि २०६८ सालपछि त्यहाँ जग्गा घोटाला भएको बताइन्। उनले पत्रकारहरुलाई  टिकापुरको जग्गा आफैँ गएर हेर्न र कागजात खोलेर हेर्न पनि आग्रह समेत गरिन्।

सांसद राणाले सहकारी ठगि प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन हुनुपर्ने बताइन्। उनले प्रजातन्त्रमा गृहमन्त्रीमाथि छानबिन गर्न समिति बन्ने भन्दै अहिलेको शासन व्यवस्था हुकुमी शासन नभएको बताइन्।

उनले भनिन्, ‘टिकापुरको जमिन तपाईहरु आफै गएर हेर्न जानुस्। ५० हजार रुपैयाँमा किनेको हो। त्यो सबै रिपोर्ट पनि गरिसकेको छ । मैले किनेको ०५३ सालमा हो। यो घोटाला भएको चाहीँ २०६८ सालपछि हो। त्यो कुराहरु पनि तपाईहरु गएर हेर्नुहोस्। तपाईहरु सबै खोज पत्रकारिता गरिरहनु भएको छ। तपाईहरुलाई गएर हेरिदिनुस् भन्छु। कागजात खोलेर हेर्नुहोला तपाईहरु कृपया। गृहमन्त्रीको अभिव्यक्तिलाई मैले कसरी हेर्नु? जनताले कसरी हेरेका छन् त्यो सोध्नुहोस् न। समिति नै नबन्नु चाहीँ कहाँको कुरा हो? यो प्रजातन्त्र हो नि। यो हुकुमी शासन हो र? नेपाली कांग्रेसले जनताको बचाउ जहिल्यै पनि गरेर आएको छ। अहिले पनि हामी गर्ने नै छौँ। सहकारी पीडितहरु रोइरहेका छन्।  न्यायोचित छानबिन होस्।  यो गर्ने सदनको काम होइन? यो पनि नगरे के गर्ने त सदनमा?’

प्रकाशित: ८ जेष्ठ २०८१ १७:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App