राजनीति

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिएका छन्।

प्रदेश सभाको बिहीबार बसेको बैठकमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, नागरिक उन्मुक्तिका २ जना र एक स्वन्तन्त्र सांसदले विश्वासको मत दिएका हुन।

प्रतिपक्ष नेपाली कांग्रेस सङ्गै नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी समूहका ५ सांसदहरूको अवरोधका बिच सोडारीले विश्वासको मत लिएका हुन। सोडारीले विश्वास लिन गरेको प्रस्तावको पक्षमा २८ मत खसेको थियो।

प्रदेश सभा बैठक सुरु भए लगत्तै नेपाली कांग्रेस र नाउपाका ५ सांसदले वेल घेराउ गरेर नाराबाजी गरेका थिए। कांग्रेस र नाउपाका सांसदहरूको नाराबाजीका बिच सभामुखले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिएका थिए। प्रस्ताव प्रस्तुत भएलगत्तै सभामुख भीम बहादुर भण्डारीले मत विभाजन प्रक्रिया सुरु गरेका थिए।

त्यसपछि कांग्रेस र नाउपा रेशम पक्षका प्रदेश सांसदहरू बैठक कक्ष छाडेर बाहिर गए। सत्ता पक्षका सांसदहरू मात्र मतदान प्रक्रियामा सहभागी भए।

विश्वासको मत लिने प्रस्तावको पक्षमा २८ मत परेको  सभामुख भण्डारीले बताए। नेकपा एमालेका ११, नेकपा माओवादी केन्द्रका १०, नेकपा एकीकृत समाजवादीका ४, नागरिक उन्मुक्तिका २ र स्वतन्त्र एक सांसदले विश्वासको मत दिएका हुन।

प्रकाशित: ३ जेष्ठ २०८१ १३:०५ बिहीबार

दीर्घबहादुर सोडारी