राजनीति

जसपा नेपालको बाइबाई !

, , ,

प्रतिनिधिसभामा पाँच सिट रहेको जनता समाजवादी पार्टी (जसपा) नेपाल समर्थनसमेत फिर्ता लिएर संघीय सरकारबाट बाहिरिने भएको छ। जसपाका नेताहरूका अनुसार उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव र वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले राजीनामा दिने भएका छन्।

जसपा नेपालका अध्यक्ष यादवले आइतबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेका छन्। भेटपछि उनले आफूनिकट नेतालाई अब संघीय सरकारमा नरहने निष्कर्ष सुनाएका छन्। ‘भेटमा प्रधानमन्त्री दाहालले यादवलाई राजीनामा गर्न सुझाव दिएका थिए,’ स्रोतले भन्यो।

प्रधानमन्त्रीसँगको भेटपछि यादवले सोमबार पार्टी केन्द्रीय समिति र कार्यकारिणी समिति बैठक बोलाएका छन्। यादवलाई सरकारबाट बाहिरिन नेकपा माओवादी र नेकपा एमालेले नैतिक दबाब दिएका छन्। जसपा नेपालले नेतृत्व गरेको मधेस प्रदेश सरकारबाट माओवादी र एमाले आइतबार बाहरिएका छन्।

यसले केन्द्र सरकारबाट हट्न जसपा नेपाललाई नैतिक दबाब परेको छ। अब मधेस प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने र त्यसमा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमत सहभागी हुने सहमति भइसकेको बताइएको छ।

‘हामीले नेतृत्व गरेको मधेस प्रदेश सरकारलाई एमाले र माओवादी केन्द्रले जस्तो व्यहार गर्छन्, केन्द्र सरकारमा त्यस्तै व्यवहार गर्ने हाम्रो नीति हो,’ जसपा नेपाल कार्यकारिणी समितिका सदस्य मृगेन्द्रसिंह यादवले भने, ‘मधेस सरकारबाट माओवादी केन्द्र र एमालेले हामीसँग सहकार्य छाड्नेबित्तिकै हामीले पनि केन्द्र सरकार छाड्ने निश्चित छ।’ संघमा जसपा सरकारबाट हट्नेबित्तिकै समर्थन पनि फिर्ता लिने भएको छ। यही कारणबाट सरकार ढल्ने अवस्था भने छैन।

अघिल्लो साता जसपा नेपालबाट विभाजित भई अशोक राई, राजेन्द्र श्रेष्ठ, मोहम्मद इस्तिायक राई, रेणु यादवलगायत नेताले जनता समाजवादी पार्टी (जसपा) गठन गरेका छन्। जसपाका अनुसार पार्टीले स्वास्थ्य मन्त्रालय पाउने सहमति एमाले र माओवादी केन्द्रसँग भइसकेको छ।

‘त्यतिबेला सम्भवतः प्रदीप यादव अथवा वीरेन्द्र महतो सरकारमा जानुहुने छ,’ एक नेताले भने। जसपा नेपालका नेताहरूले माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी फुटाएको आरोप लगाउँदै आएका छन्।

प्रकाशित: ३१ वैशाख २०८१ ०६:४४ सोमबार

Withdrawal of support resignation of Janata Samajwadi Party federal government Upendra Yadav and Deepak Karki