राजनीति

कांग्रेस वर्तमान गठबन्धन भत्काउन सुरुबाटै लागेको छः नेता दाहाल

राष्ट्रिय सभामा नेकपा एमालेका संसदीय दलका नेता देवेन्द्र दाहालले वर्तमान गठबन्धन बनेको सुरुवाती दिनदेखि नै सरकार परिवर्तनको खेल सुरु भएको बताएका छन्।

शुक्रबार सुरु राष्ट्रिय सभाको बजेट अधिवेशनको पहिलो बैठकमा बोल्दै उनले मुलुकमा नयाँ सत्ता गठबन्धन बनेको सुरुको दिनदेखि नै सरकार भत्काउने चलखेल सुुरु भएको आरोप लगाए।

उनले नेपाली कांग्रेसले सत्ता परिवर्तनको खेलमा लागिरहेको भन्दै प्रतिशोधपूर्ण, निषेधको राजनीति र स्वार्थकेन्द्रित राजनीति नगर्न आग्रह गरे।

उनले भने, ‘यो मुलुकमा डे वानदेखि जुन अहिले गठबन्धन बनेको छ, यो गठबन्धन भत्काउनका लागि पहल भएको छ । यसले यो सत्ता समीकरणको खेलले अस्थिरता निम्त्याउँदैन र ? सत्ता र सरकारलाई केही समय चल्न दिने होइन, पहिलो दिनदेखि नै यो सत्ता परिवर्तन गर्नेमा लागिरहेको अवस्था छ। नेपाली कांग्रेसका साथीहरुलाई आग्रह गर्दछु । प्रतिशोधपूर्ण, निषेधको राजनीति र स्वार्थकेन्द्रित राजनीति नगर्नु होला।’

यस्तै,नेता दाहालले विभिन्न १० वटा विधेयकहरु प्रतिनिधि सभाका विभिन्न समितिमा रहेको र ती विधेयकहरु छिटो भन्दा छिटो राष्ट्रिय सभामा फिर्ता आउनु आवश्यक रहेको बताए। 

सभाबाट सबै दलको सर्वसम्मतिमा पठाएको राष्ट्रिय मर्यादासम्बन्धमा बनेको विधेयक यसै तुहाउने आशंका लागेको उनको छ। उक्त विधेयकको बारेमा अविलम्व छलफल सुरु गर्न आग्रह समेत गरे। 

प्रकाशित: २८ वैशाख २०८१ १५:१० शुक्रबार

#UML parliamentary party leader #Devendra Dahal