राजनीति

‘देश सम्हाल्ने शक्ति चाहिएको छ’

इलामको चुनावी सभामा बोल्दै कांग्रेस महामन्त्री गगन थापा। तस्बिर: भीम/नागरिक

नेपाली कांग्रेस महामन्त्रीपाले देशलाई सम्हाल्ने शक्ति चाहिएको बताएका छन्। उनले सबैको पहिचानलाई सम्हाल्नेगरी नेतृत्व इलाम क्षेत्र २ को निर्वाचनले खोजेको पनि बताए।

कांग्रेसले शनिबार इलाम बजारमा आयोजना गरेको चुनावी सभामा महामन्त्री थापाले पहिचान पक्षधरलाई वास्तवमा नाराको सम्बोधन गर्न खोजेको कि चुनावी अजेन्डा मात्रै बनाएको भन्ने प्रश्नसमेत गरे। ‘यो देशलाई मिलाउने शक्ति चाहिएको छ, सम्हाल्ने शक्ति चाहिएको छ,’ उनले भने, ‘पहिचानको नारा लगाउने साथीहरूलाई यही मञ्चबाट भन्छु, यो नाराको सम्बोधन होस् भन्ने चाहेको हो कि नारा मात्रै लगाएको हो?’

उनले इलामका मतदाताले उत्तेजना, भड्कावको राजनीति स्वीकार्ने कि चेतनाको राजनीति रोज्ने भन्ने पनि आउँदो उपनिर्वाचनले देखाउने बताए। ‘कांग्रेस सबैको समान अधिकार स्थापित गर्नुपर्छ भन्ने मान्यता राख्छ,’ उनले भने, ‘इलामले उत्तेजनाको, भड्कावको र उचाल्ने राजनीतिलाई स्वीकार्छ कि मिलाउने वा सहमतिको राजनीतिलाई स्वीकार्छ भन्ने यो निर्वाचनले देखाउने छ।’

उनले कांग्रेस नेता डम्बरबहादुर खड्कालाई जिताउन मतदातासँग आग्रह गरे।

आउँदो १५ गते इलाम क्षेत्र २ मा उपनिर्वाचन हुँदैछ। उपनिर्वाचनमा आफ्ना उम्मेदवारको प्रचारका लागि कांग्रेस महामन्त्री थापा, अर्का महामन्त्री विश्वप्रकाश शर्मालगायत नेता इलाम आएका हुन्। 

प्रकाशित: ९ वैशाख २०८१ ०७:५५ आइतबार

कांग्रेस महामन्त्री गगन थापा इलामको चुनावी सभा