राजनीति

‘इलाम–२ मा साझा उम्मेदवार बनाउन छलफल भइरहेको छ’

इलाममा आयोजित कार्यकर्ता भेटघाटमा एमाले उपमहासचिव प्रदीप ज्ञवाली।

नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले इलाम क्षेत्र-२ का एमाले उम्मेदवारलाई समर्थन गर्न सत्ता साझेदार दललाई आग्रह गरेको बताएका छन्। उनले सत्ता गठबन्धन दलको साझा उम्मेदवार बनाउनेबारे छलफल भइरहेको पनि बताए।

इलाम सदरमुकाममा पार्टी नेता–कार्यकर्तासँगको भेटमा ज्ञवालीले इलाम क्षेत्र-२ मा एमाले उम्मेदवार नै निर्वाचित हुने दाबी गरे।

‘निर्वाचन जित्न एमालेलाई धेरै कुराले सहज छ,’ उनले भने, ‘राष्ट्रिय राजनीतिमा एमालेको भूमिका, जनाधार र उम्मेदवारकै कारण हामी यस पटक पनि इलाम–२ मा चुनाव जित्छौं।’

उपमहासचिव ज्ञवालीले एमालेको देशभक्तिपूर्ण कार्य सारा नेपालीलाई थाहा भएको भन्दै पार्टीको लोकतन्त्रप्रतिको निष्ठा र स्वाधीनताको लडाइँमा एमाले नेतृत्वको सरकारको भूमिका पनि पार्टीका लागि बलियो आधार भएको बताए।

‘अहिले पार्टीको आन्तरिक एकता बलियो छ, एमालेमाथिको चौतर्फी घेराबन्दीसमेत तोडेर हामी नागरिकको सेवामा खटिएका छौं,’ उनले भने, ‘इलाम क्षेत्र-२ मा दिवंगत नेता सुवासचन्द्र नेम्बाङले देख्नुभएको सपना पूरा गर्ने जिम्मा पनि हाम्रै भएकाले यस पटक एमालेलाई मतदाताले जिताउनुहुनेछ।’

ज्ञवालीले एमाले अहिले कुनैपनि स्वार्थबिना सरकारमा सहभागी भएको बताए। ‘यसअघिको गठबन्धनबाट सरकारले नागरिकका अपेक्षा र आवश्यकता पूरा गर्न नसक्ने देखिएपछि गठबन्धन परिवर्तन भएको छ,’ उनले भने, ‘यसमा हाम्रो पार्टीको कुनै स्वार्थ छैन, देशमा फैलिन लागेको निराशा अन्त्य गर्नु, आर्थिक सूचक आसलाग्दो बनाउनु र परराष्ट्र सम्बन्ध सुधार्न एमाले सरकारमा सहभागी भएको हाे।’

एमाले नेता सुवासचन्द्र नेम्बाङको गत भदौ १६ मा निधन भएपछि इलाम–२ को प्रतिनिधिसभा निर्वाचन क्षेत्र रिक्त छ। आउँदो वैशाख १५ मा यहाँ उपनिर्वाचन हुँदैछ।

प्रकाशित: १७ चैत्र २०८० १८:०५ शनिबार